१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जनप्रतिनिधिले फजुल खर्च नगरी आफ्ना प्रतिबद्धता व्यवहारमा राखेर काम गर्नुस्ः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधिलाई आफ्ना प्रतिबद्धता व्यवहारमा राखेर काम गर्न सुझाव दिएका छन्। कांग्रेसबाट चितवनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न आयोजित बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै खड्काले पार्टीको घोषणा पत्रमा उल्लेख भएका विषयवस्तुहरुलाई जिम्मेवार भएर काम गर्न अनुरोध गरेका हुन्।

‘कांग्रेसको प्रतिनिधित्व गरेर निर्वाचित भएपछि पार्टीको घोषणापत्रमा जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘कांग्रेसको प्रतिनिधित्व गरेर काम गर्न थाल्यो भने जनताका अपेक्षा त्यहीबाट पुरा हुन्छन्।’ उनले जनप्रतिनिधिलाई फजुल खर्च नगर्न समेत सुझाव दिए।

‘विकास भन्दा फजुल खर्च बढी हुने गरेको गुनासो छ। विकासमा आएको बजेट सवारी साधान खरिद गर्न लाग्नुहुँदैन,’ उनले भने, ‘जनअपेक्षा अनुरुप नै काम गर्नुपर्छ।’ उनले कांग्रेसका नेता, कार्यकर्ताको मर्म अनुसार काम गर्नुपर्ने धारणा राखे। कांग्रेसलाई सैद्धान्तिक सुधारको जरुरत नभएको उनले जिकिर गरे।

‘कांग्रेसको इतिहासको गौरवमा कहि पनि प्रश्न गर्ने कसैको ताकत छैन। कांग्र्रेसको बलिदान इतिहास र मुलुकको परिर्वतन र नेतृत्व गरेको कुनै ऐतिहासिक प्रश्नमा कसैले प्रश्न उठाउन सक्दैन,’ खड्काले भने, ‘हामी बिचको समस्या हाम्रो व्यबहर हो। निर्वाचित भएपछि काम गर्ने तरिकाले गर्दा समस्या समस्या भएको छ।’

कांग्रेसबाट टिकट पाएर पनि जित्न नसकेका उम्मेदवारहरुलाई हारेँ, काम सकियो भनेर नबस्न सुझाव समेत दिएका छन्। ‘हारेपनि ५ वर्ष सम्बन्धित स्थानीय तहमा निगरानी र खबरदारी गरेर कांग्रेस बलियो बनाउन लाग्नुपर्छ’, उनले भने, ‘जितेका र हारेका जनप्रतिनिधिले ५ वर्ष कसरी काम गर्ने, कर्तव्य के हुने निर्देशिका र कार्यविधि बनाउनेछौँ, कांग्रेसको घोषणापत्र लिएर निरन्तर जनतामाझ रहने वातावरण बनाउनेछौँ।’

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री शंकर भण्डारीले जनप्रतिनिधिहरुलाई आगामी चुनाव जित्ने रणनीतिमा लाग्न आग्रह गरेका छन्। सो कार्यक्रममा बोल्द भण्डारीले पार्टीसँग समन्वय गरेर जनताका कामहरु गर्न आग्रह गरेका हुन्। उनले गठबन्धन भएर जितेका पालिकाहरुमा राजनीतिक कार्यदल बनाएर सबै दलको अपनत्व बढाउन कांग्रेस केन्द्रीय समितिमा छलफल गरिने बताए।

प्रकाशित: १३ जेष्ठ २०७९ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App