४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रायः स्थानमा तालमेल भएको छ, कांग्रेस

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूबीच तालमेल भएको दाबी गरेको छ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले आइतबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै केही स्थानबाहेक प्रयास ठाउँमा चुनावी तालमेल भएको दाबी गरेका हुन्। केही ठाउँमा अझै मिलाउने प्रयास भइरहेको जिकिर गर्दै महतले गठबन्धनको भावना र निर्णयअनुसार अघि बढ्न आग्रह गरेका छन्। ‘धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन, ठूलो विद्रोह हुन्छ। तर त्यस्तो अवस्था आएन,’ महतले भने, ‘एकाध स्थानीय तह जहाँ अझै विद्रोही उम्मेदवार हुनुहुन्छ। ती साथीहरूले पनि पार्टी र गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनुहुनेछ भन्ने विश्वास छ।’

नेपाली नागरिकले झन्डै सात दशकको अनवरत संघर्षले ल्याएको लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट जारी गरिएको संघीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि सत्तामा गठबनधनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय भएको पनि कांग्रेस प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

देशभरका ७ सय ५३ स्थानीय तहका लागि ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रायःसबै पदमा उम्मेद्वारी परेको छ जनाउँदै कांग्रेसले तालमेल नभएको कतिपय स्थानमा पूर्व सहमति अनुसार नै गठबन्धनका दलहरूबीच मित्रवत प्रतिस्पर्धा हुने जनाएको छ।  

पार्टी निर्णयविपरीत स्वतनत्र उम्मेदवारी कायम राख्ने नेता तथा कार्यकर्तालाई विधानको व्यवस्था अनुसार साधारण सदस्यतासमेत नरहनेगरी कारवाही हुने कांग्रेसले जनाएको छ। तर प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनुभएका निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उम्मेद्वारहरूको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिनेलाई भने पार्टी विधानको उक्त प्रवाधान लागु नहुने उल्लेख गरिएको छ।

स्थानीय तहको निर्वाचनलाई प्रभावकारी बनाउँदै आफ्नो पक्षमा परिणाम ल्याउन पार्टीक सबै तह तथा भ्रातृ र शुभेचछुक संगठन परिचालित भएको कांग्रेसले दाबी गरेको छ। निर्वाचन अभियानलाई मर्यादित,अनुशासित र सुव्यवस्थित ढंगले सञ्चालन गर्न उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले काम गरिहेको कांग्रेसले जनाएको छ।

महामन्त्री गगन थापाको संयोजकत्वमा गठित घोषणा–पत्र तयारी समितिले स्थानीय तहलाई अधिकार सम्पन्न, सक्षम, सवल, उत्तरदायी, नागरिकमुखी सेवाप्रवाह गर्न सक्ने बनाउन संकल्प गरेको दोहोर्‍याएको छ। अर्का उपसभापति धनराज गुरुङ्को संयोजकत्वमा देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन भएको भन्दै कांग्रेसले स्थानीय निर्वाचनलाई अत्यन्त मर्यादित, संयमित र अनुशासित ढंगले सञ्चालन गरिरहेको दाबी गरेको छ।

प्रतिस्पर्धी राजनीतिक दलका नेताले आचारसंहिताको धज्जी उडाउँदा समेत निर्वाचन आयोग मौन रहेको भन्दै कांग्रेसले असन्तुष्टि पनि जनाएको छ। ‘निर्वाचनको माहोल कांग्रेसको पक्षमा छ। कांग्रेसको नेतृत्व रहेको गठबन्धनको पक्षमा बनेको छ,’महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘अघिल्लो निर्वाचनमा कांग्रेस कमजोर हुँदा स्थानीय निकायहरूको विकास प्रभावित भएको र स्थानीय निकायको संस्थागत स्वःमूल्यांकनमा नेपाली कांग्रेसले सम्हालेका निकायहरू अब्बल प्रमाणित भएकोले यस निर्वाचनमा कांग्रेसका उम्मेदवार हुनेमा हामी विश्वस्त छाैँ।’

३१ हजार २ सय ५१ जना पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न तहमा उम्मेदवारी दिएको जनाउँदै कांग्रेसले ६ सय २३ जनाले उम्मेदवारी फिर्ता लिँदा ३० हजार ६ सय २८ जनाको कायम रहेको उल्लेख गरेको छ। तीमध्ये प्रमुखमा २ सय ६२ जना र अध्यक्षमा ३ सय ७२ जनाको उम्मेदवारी रहेको कांग्रेसले जनाएको छ। उपप्रमुखमा १ सय ९४ र उपाध्यक्षमा ३ सय४० जनाले पार्टीको तर्फबाट उम्मेदवारी दिएको जनाइएको छ ।

प्रकाशित: १९ वैशाख २०७९ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App