८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

रौतहटमा बढे महिला उम्मेदवार

देशकै सबैभन्दा कम साक्षर रहेको रौतहटमा स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारको संख्या निकै बढेको छ। २०७४ सालको आसन्न स्थानीय तहको निर्वाचनमा नगरपालिका तथा गाउँपालिकाको प्रमुखमा महिला उम्मेदवार बढेको हो।

मधेस प्रदेशमै रौतहटको मौलापुर नगरपालिकाबाट रीनाकुमारी साह एक मात्र महिला मेयरमा निर्वाचित भएकी थिइन्। माओवादी केन्द्रले मौलापुरमा महिला उम्मेदवार बनाएको थियो तर निर्वाचित भएपछि गत वर्ष साह एमालेमा प्रवेश गरिन्। साह नेकपा एमालेबाट फेरि नगर प्रमुख पदमा उम्मेदवार बनेकी छन्।

एमालेले रौतहटमा मौलापुरसहित तिन नगरपालिकाको नगर प्रमुख र एउटा गाउँपालिकाको अध्यक्ष पदमा महिलालाई उम्मेदवार बनाएको हो। सो पार्टीले राजपुर नगरपालिकाको नगर प्रमुख पदमा शर्मिका कोइराला र राजदेवी नगरपालिकाको नगर प्रमुख पदमा अंशु सिंहलाई नगर प्रमुख पदमा उम्मेदवार बनाएको हो।

एमालेले दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा रिंकु यादवलाई उम्मेदवार बनाएको हो। परोहा नगरपालिकामा जनमत पार्टीले निर्मला पटेललाई नगर प्रमुख पदको उम्मेदवार बनाएको हो। राजदेवी नगरपालिकामा एमालेकी अंशु सिंहका साथै स्वतन्त्र उम्मेदवारका रूपमा नगर प्रमुख पदमा अनिता सिंहको मनोनयन परेको छ। अंशु सिंह यसअघि उपमेयर थिइन्।

फतुवा विजयपुर नगरपालिकामा नगर प्रमुख पदमा १५ जनाले मनोनयन दर्ता गराएकोमा एक महिला र एक कलाकार छन्। जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट नगर प्रमुखमा महिला रहेको छ भने एमालेले कलाकारलाई उम्मेदवार बनाएको छ। नेपाल चलचित्रकर्मी संघका मधेस प्रदेश अध्यक्ष तथा उपन्यासकार विजय यादव निर्विजलाई एमालेले उम्मेदवार बनाएको हो।

देवाही गोनाही नगरपालिकाको नगर प्रमुख पदमा जसपा नेपालले महिलालाई उम्मेदवार बनाएको छ। जसपाले तत्कालीन नगर प्रमुख धर्मेन्द्र पटेलकी पत्नी मधुलिका रानी पटेललाई नगर प्रमुखको उम्मेदवार बनाएको हो। रौतहटका पालिकामध्ये पालिका प्रमुख पदमा सबैभन्दा बढी ईशनाथ नगरपालिकामा महिला उम्मेदवार देखिएको छ।

ईशनाथको नगर प्रमुखमा नेपाली कांग्रेसबाट अन्जु झा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट कौशल्या देवी तथा स्वतन्त्र उम्मेदवारका रूपमा नगिना देवी र मुलली देवीले मनोनयन दर्ता गराएका छन्। यसैगरी जिल्ला सदरमुकाम गौरमा जसपा नेपालबाट किरण ठाकुर नगर प्रमुखमा उम्मेदवार छिन्।

ठाकुर यसअघि उपमेयर थिइन्। जिल्लामा कांग्रेस, एमाले, जसपा, लोसपा, जनमत पार्टीले महिलालाई पालिका प्रमुखमा उम्मेदवार बनाएको छ तर नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले भने पालिका प्रमुखमा रौतहटमा स्थान दिएको पाइएको छैन। 

प्रकाशित: १६ वैशाख २०७९ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App