६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

महानगरलाई भ्रष्टाचारमुक्त बनाउने सिंहको प्रतिबद्धता

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताएकी छिन्।

बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउनु रहेको बताएकी हुन्। महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफूले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उनले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

उनले महानगरको सेवा, सुविधालाई चुस्त, दुरुस्त बनाउने पनि बताइन्। उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गरेकी छिन्। संकल्प पत्र सार्वजनिक गर्दै उनले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने बताइन्। भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उनको प्रतिबद्धता छ।

त्यसैगरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने उनले उल्लेख गरिन्। जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनको भनाइ छ।

सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा गरिन्। पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने उनले बताइन्। सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गरिने उनको भनाइ छ।

त्यस्तै गरी महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्ने उनको संकल्प छ। विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्ने उनले बताइन्। सिंहले महानगरभित्रको संस्कृतिलाई पर्यटन सँग जोड्ने उल्लेख गरिन्। गुठि प्रणालीको संरक्षण र प्रवर्द्धन गर्दै दिगो विकासको लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।

उनले सहज रुपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका बनाउने बताइन्। पूर्वाधार निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने उनको भनाइ छ। महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गरिने उनले उल्लेख गरिन्।

त्यसैगरी युवाका लागि अवसर, महिलाको शशक्तिकरण र महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्ने उनको प्रतिबद्धता छ। उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने उनले बताइन्। उनले सुकुम्बासीको समस्या समाधान गर्ने पनि बताइन्।

प्रकाशित: १५ वैशाख २०७९ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App