९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरा महानगरः उपमेयरमा अझै अन्योल

एमालेकी मञ्जुदेवीद्वारा उपमेयरको उम्मेदवार बन्न अस्वीकार

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारमा दलहरुले टुंगो लगाएपनि उपमेयरमा भने अझै निर्णय हुन सकेको छैन। उम्मेदवारी दिन सुरु हुँदा पनि प्रमुख दलले उपमेयरको टुंगो लगाउन नसकेका हुन्।  

एमालेले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई शिफारिस गरेको छ। मञ्जु वहालवाला उपमेयर हुन्। एमाले केन्द्रीय सचिवालयले उपमेयरमा गुरुङलाई शिफारिस गरेको भएपनि उनले भने उपमेयरमा उम्मेवार बन्न अस्वीकार गरेकी छिन्। मञ्जुका प्रेस संयोजक एकराज गिरीले पार्टीले मञ्जुलाई यसबारेमा औपचारिक रुपमा जानकारी नदिएको बताए।  

‘उहाँ (मञ्जु) मा कुनैपनि पदमा उम्मेदवार बन्ने आकांक्षा छैन। उम्मेदवारको आकांक्षी नै नभएपछि अरु कुरै रहेन, उपमेयरको उम्मेदवार बन्नेबारे उहाँलाई आधिकारिक जानकारी कसैले दिएको छैन,’ गिरीले भने, ‘उम्मेदवार हुनुभएको छ भनेर पनि कतैबाट औपचारिक जानकारी आएको पनि छैन। सामाजिक सञ्जाल र संचारमाध्यमबाट थाहा भएको हो।’  

मेयर वा उपमेयर कुनै पदमा आकांक्षी नभएकोले प्रतिक्रिया दिन पनि नचाहेको उनले बताए। ‘पार्टीले आधिकारीक रुपमा उपमेयरको उम्मेदवार नै भनेको छैन। चाहना पनि होइन। जसले चाहेको छ, उसलाई नदिने, दावा नै नहालेको व्यक्तिलाई उम्मेदवारी दिने भन्ने हुँदैन,’ उनले भने, ‘कम्तिमा एकपटक सोधिनुु त पर्दथ्यो। एकाएक निर्णय भएको हो।’ एमाले पोखरा महानगर कमिटिले मेयरमा १२ जना र उपमेयरमा ११ जनाको नाम शिफारिस गरेको थियो। तर, त्यसमा गुरुङको नाम थिएन। गुरुङ पार्टीको केन्द्रीय कमिटि सदस्य हुन्।  

एमाले पोखरा महानगर कमिटि अध्यक्ष दिलीप न्यौपानेका अनुसार मञ्जुुको नाम शिफारिस गर्ने बेलामा सोधेको भएपनि उनले त्यही बेला नै अस्वीकार गरेकि थिइन। ‘हामीले नाम शिफारिस गर्ने बेलामा पनि उहाँलाई सोधेका हौ। त्यो बेला अनुरोध गर्दा पनि मान्नु भएको थिएन,’ न्यौपानेले भने, ‘उहाँको नाम बाहेकको शिफारिस भएको हो। तर, पार्टीको केन्द्रमा छलफल भएपछि उहाँबारे निर्णय भएको हो।’

पार्टीको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटिलाई समेत आफु उपमेयरको उम्मेदवार हुन नचाहेको भनेर जानकारी गराईसकेको समेत न्यौपानेले बताए। ‘मञ्जुदेवीले अस्वीकार गरेपछि अब उपमेयरको टुंगो लागेन। त्यसैले उम्मेदवारी दर्ता पनि सोमबार मात्र हुनेछ,’ उनले भने, ‘उपमेयरमा हामीले ११ जनाको नाम पठाएका हौ। अब पार्टीले ११ जनाबाटै नामबारे निर्णय गर्नुपर्छ भन्ने छैन। अरु विकल्प पनि छन । केही समयभित्र टुंगो लाग्नेछ।’  

महानगरमा एकपटक नेतृत्व गरेको र पुन उपमेयर हुन चाहँदा अरु नेताको वृत्ति विकासमा बाधा पुग्न सक्छ भनेर मञ्जुदेवीले अस्वीकार गरेको हुनसक्ने उनको अनुमान छ। ‘एकपटक नेतृत्व गरेको र अर्काेपटक पनि अवसर लिँदा अर्काे साथीको अवसर गुम्छ भन्ने उहाँको सोचाँइ थियो,’ उनले भने, ‘उम्मेवदार हुन नचाहनुको कारण त्यही हुन सक्छ।’

कांग्रेसबाट पनि अहिलेसम्म उपमेयरको टुंगो लागेको छैन। सत्ता साझेदार गठबन्धनको तर्फबाट मेयरमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पोखरामा मेयर पाएको छ। मेयरमा एकीकृत समाजवादीका तर्फबाट धनराज आचार्य उम्मेदवार बन्ने निश्चित भएको छ। उपमेयरको उम्मेदवार भने कांग्रेसको तर्फबाट हुने भएपनि अझै निश्चित भएको छैन।  

पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले दशजनाको नाम सिफारिस गरेको छ। प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न पदाधिकारीको हालैको बैठकले नाम शिफारिस गरेको हो। सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी रहेका छन्।  

‘उपमेयरमा १० जनाको नाम शिफारिस भएको छ । तर, अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्नेमा निर्णय भएको छैन,’ कांग्रेस कास्कीका सहसचिव नविन सिग्देलले भने, ‘केन्द्रले नै नाम अनुसार शिफारिस गर्ने छ ।’ अहिले गाउँपालिका र वडास्तरका उम्मेदवारको टुंगो लगाउन गठबन्धन दलहरु छलफलमा रहेको पनि उनले बताए।  

प्रकाशित: ११ वैशाख २०७९ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App