६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरा महानगरमा कांग्रेसको दावा

पोखरामा हामी बलियो छौः कांग्रेस

पोखरा उपत्यका। फाइल तस्बिरः नागरिक

स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा सत्तारुढ गठबन्धनका अरु दलले दावी गरिरहँदा कांग्रेसले भने मेयर छाड्न नसकिने बताएको छ। कुनैपनि हालतमा पोखरा महानगरको मेयरको उम्मेदवारी पाउनुपर्ने कांग्रेसको दावी छ।  

मेयरको उम्मेदवारी कांग्रेसलाई दिलाउन दलका नेताहरु ‘डेलिगेसन’ नै गएका छन्। डेलिगेसन टिमको नेतृत्व कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापाले गरेका छन्। थापाको नेतृत्वमा नेताहरु राजधानी गएका छन्। उनीहरुले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका वरिष्ठ नेताहरुसँग भेट्नेछन।  

‘पोखरा महानगरको मेयरको उम्मेदवारी गठबन्धनका अरु दलले पाउने हल्ला सुन्यौ। तर, यो हामीलाई मान्य छैन, कांग्रेसलाई पोखराको मेयर दिनैपर्छ,’ थापाले भने, ‘गठबन्धनका कारणले कांग्रेसले पोखरामा मेयर पद गुमाउने आशंका बढ्यो। त्यसले हामीलाई त्रसित बनायो।’ थापाले अरु पदमा कांग्रेस लचिलो भएपनि मेयरमा भने हुन नसक्ने पनि बताए।  

‘सबैतिर पोखराले कांग्रेसका तर्फबाट मेयर नपाउने कुरा सुन्यौ, तर कांग्रेसले पाउनैपर्छ। त्यसैमा ढुक्क हुनुपर्ने छ,’ उनले भने। सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि पोखराको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने उनले बताए। ‘पार्टी सभापति तथा प्रधानमन्त्री देउवा सहित सबै शीर्ष नेतालाई भेटेर हामीले माग राख्नेछौ। त्यसका लागि भेटघाटको समय तालिका पनि तय भएको छ,’ उनले भने। टिमले बुधबार बिहान नौबजे प्रधानमन्त्री तथा सभापति देउवालाई भेट्ने समय तय भएको छ।

गठबन्धन दलबीच सहकार्य गरेर जाँदा पनि पोखरा महानगरमा कांग्रेसलाई जित्न सहज रहेको थापाले बताए। गठबन्धलाई बलियो बनाउनुपर्नेमा कुनै आशंका नभएपनि पोखरामा कांग्रेसलाई जिताउन जति सहज छ, अरु दललाई उत्तिसारो नभएको पनि थापाले बताए। ‘पोखरामा कांग्रेसले सहजै जित्न सक्छ। अरु दलका उम्मेदवारलाई सघाउँदा पनि जिताउन गाह्रो छ,’ उनले भने। थापा सहित कास्की कांग्रेसका सभापति, कोषाध्यक्ष, सचिव सहितको टिम काठमाडौं गएको छ।  

सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीका नेताहरुले कांग्रेसलाई तीनवटा र अरु दललाई एकएकवटा महानगर दिनुपर्ने प्रस्ताव गरेका छन्। कांग्रेसलाई काठमाडौं, ललितपुर र बिराटनगर लिन प्रस्ताव गरेका उनीहरुले भरतपुरमा माओवादीलाई, वीरगञ्जमा जसपा र पोखरा एकीकृत समाजवादीले लिन खोजेका छन्। ‘अरु दलको तुलनामा पोखरामा कांग्रेस बलियो छ। त्यही भएर हामीले पोखरामा दावी गरेका हौ,’ थापाले भने, ‘अरुमा लचिलो हुन सके पनि पोखरामा भने सकिन्न।’  

कांग्रेसका नेता बिन्दुकुमार थापा पनि जुन पार्टी जहाँ बलियो छ, त्यही ठाउँमा उसलाई टिकट दिनुपर्ने बताउँछन। ‘पार्टी जुन ठाउँमा बलियो छ, त्यहाँ त्यही दललाई उम्मेदवारी दिनुपर्छ। पोखरा महानगरमा कांग्रेस बलियो छ। अघिल्लो निर्वाचनमा भन्दा पनि कांग्रेस अहिले बलियो भएको छ,’ थापाले भने, ‘बलियो भएको ठाउँमा जित्न सहज हुन्छ। पोखरामा कांग्रेसले पहिलो पद पाउनुपर्छ भन्ने हो।’

गठबन्धनका दलहरुबीचको भागबण्डामा पोखरा अरु नै दललाई दिँदा जिताउन कठिन हुने उनले बताए। ‘१०–१५ प्रतिशत भोट थपेर जिताउन सकिन्छ तर आवश्यक सबै मत दिलाउन कठिन छ। त्यसैले पनि कांग्रेसको दावा हो,’उनले भने। अघिल्लो पटक पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसीले मेयर पदमा जित हासिल गरेका थिए। जिसीले ६० हजार १ सय १८ मत पाएका थिए। उनका प्रतिश्पर्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाएका थिए।

गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार पोखरा महानगरमा मात्र यो पटक ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन। यसअघि २०७४ मा स्थानीय तह निर्वाचन हुँदा पोखरा महानगरपालिका भित्र १ लाख ६८ हजार ६७ जना मतदाता थिए। थपिएका सहित यो पटकको निर्वाचनमा २ लाख ७ हजार ७ सय १२ जनाले मत दिँदैछन।  

प्रकाशित: २९ चैत्र २०७८ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App