४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचनः पोखरामा झन्डै ४० हजार नयाँ मतदाता

कास्कीमा ५७ हजार नयाँ मतदाता थपिए

पोखरा उपत्यका। फाइल तस्बिरः उमेश पुन/नागरिक

स्थानीय तह निर्वाचनमा पोखरा महानगरप्रति सबैजसो राजनीतिक दलको नजर पर्छ। सबैभन्दा ठूलो महानगरपालिका भएकोले पनि यहाँको निर्वाचन परिणाम र मतदाताप्रति सबैतिर चाँसो हुन्छ। आगामि वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पनि कसले बाजी मार्ने भन्नेमा यहाँ अड्कलबाजी सुरु भइसकेको छ। यहाँ नयाँ मतदाता पनि ठुलो आकारमा थपिएका छन्।  

गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार पोखरा महानगरमा मात्र ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन्। ती मतदाता पहिलो पटक निर्वाचनमा मत दिँदैछन्। यसअघि २०७४ मा स्थानीय तह निर्वाचन हुँदा पोखरा महानगरपालिका भित्र १ लाख ६८ हजार ६७ जना मतदाता थिए। थपिएका सहित यो पटकको निर्वाचनमा २ लाख ७ हजार ७ सय १२ जनाले मत दिँदैछन्।  

‘महानगरपालिका भित्र मात्र झन्डै ४० हजार नयाँ मतदाता थपिएका छन्,’ प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘थपिएका नयाँ मतदाता पहिलो पटक मतदान गर्दैछन्।’ न्यौपानेका अनुसार थपिएका नयाँ मतदातामध्ये पनि करिब ३० प्रतिशत पुरै नयाँ छन्। १६ वर्ष पुगेर नाम दर्ता गराएका तर, मताधिकार पाउन १८ वर्ष पुग्नुपर्ने हुँदा उनीहरु अघिल्लो पटक सहभागि हुन पाएका थिएनन्।

‘अधिकांश युवा पुस्ता नयाँ मतदाता हुन्,’ उनले भने। न्यौपानेका अनुसार थपिएका मध्ये करिब ७० प्रतिशत मतदातामध्ये केही छुटेका थिए भने कतिपय वैदेशिक रोजगारीमा रहेकोले मतदातानमा सहभागी हुन पाएका थिएनन्। ‘झन्डै ४० हजार मतदाता थपिनु ठूलो संख्या हो। अहिले पोखरा भित्र मात्र नभई गाउँपालिकामा पनि मतदाता थपिएका छन्,’ उनले भने।  

पोखरा महानगरमा मात्र नभई कास्की जिल्लाका सबै स्थानीय तहमा मतदाता संख्या बढेका छन्। अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ जना मतदाता छन्। अघिल्लो पटकको निर्वाचनमा अन्नपूर्णमा १५ हजार ५ सय ६९ जना मतदाता थिए। अन्नपूर्णमा अहिले ४ हजार ७ सय ७९ जना मतदाता थपिएका छन्।  

त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता पुगेका छन्। अघिल्लो पटक त्यहाँ १६ हजार ३ सय १ जना मतदाता थिए। थपिएका ४ हजार १५ जना नयाँ मतदाता हुन्। मादी गाउँपालिकामा अहिले १८ हजार ७ सय ८२ जना मतदाता पुगेका छन्। अघिल्लो पटक १३ हजार ५ सय ५९ जना मतदाता थिए। ५ हजार २ सय २३ जना नयाँ मतदाता मादीमा थपिएका छन्। त्यस्तै रुपा गाउँपालिकामा १४ हजार ६ सय ७५ जना मतदाता छन्। अघिल्लो पटक रुपमा ११ हजार ३ सय १५ जना मतदाता थिए। रुपामा ३ हजार ३ सय ६० जना नयाँ मतदाता थपिएका छन्।  

‘सबै स्थानीय तहमा अहिले मतदाता थपिएका छन्। ती मध्ये अधिकांश युवा उमेरका मतदाता छन,’ निर्वाचन कार्यालयका सूचना अधिकारी न्यौपानेले भने। सिंगो कास्की जिल्लामा ५७ हजार २२ जना मतदाता थपिएका छन्। अघिल्लो पटक २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेकोमा अहिले २ लाख ८१ हजार ८ सय ३३ जना मतदाता पुगेका छन्।

अघिल्लो पटक पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसीले मेयर पदमा जित हासिल गरेका थिए। जिसीले ६० हजार १ सय १८ मत पाएका थिए। उनका प्रतिश्पर्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाएका थिए। त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ५६ हजार ४ सय ४८ मत पाएर विजयी भएकी थिइन। कांग्रेसकी सरस्वती गुरुङले भने ४४ हजार ३ सय ३८ मत पाएकी थिइन्। अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच मेयर पदमा गठबन्धन थियो।

अघिल्लो पटकको महानगरको परिणाम अनुसार एमालेका जिसीले जित हासिल गर्दा कांग्रेसका कुँवर भन्दा १३ हजार ७ सय २ मत बढी ल्याएका थिए। त्यस्तै उपमेयरमा मञ्जुले जित हासिल गर्दा १२ सरस्वतीले भन्दा १२ हजार १ सय १० मत बढी ल्याएकी थिइन्। तर, अहिले झन्डै ४० हजार मतदाता थपिँदा त्यसले अघिल्लो निर्वाचन परिणाममा भने केही असर पार्न सक्ने विश्लेषण पनि विश्लेषकले गरेका छन्।

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल भन्छन्, ‘एउटा स्थानीय तहमा झन्डै ४० हजार मतदाता थपिनु ठुलो संख्या हो। तर, उनीहरु यहिका बासिन्दा थिए। उनीहरु अन्यत्रबाट आएका होईनन्। यी मतदातामा सबै दलका मतदाता हुन्।’ कसको पक्षमा कति मतदाता छन् भन्ने कुरा उनीहरुलाई मतदाता बनाउने बेलामा कुन दलले कति सक्रियता देखायो भन्नेमा भर पर्ने दाहाल बताउँछन्।

‘सबै दलले मतदाता थप्न सक्रियता देखाएर आफ्नो संख्या बढाएका छन्। मतदाता सबै दलका बढेका छन्। यसैको कारणले निर्वाचन रिजल्ट अनुमान गर्न सकिन्न,’ उनले भने, ‘तर, अन्तर घटबढ गराउन सक्छ। यी मतदाता बढाउने दलको भूमिका महत्वपूर्ण भएकोले त्यसको प्रभाव परिणाममा पर्न सक्छ।’  

प्रकाशित: २१ चैत्र २०७८ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App