४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धनबीच सहमतिः तलैसम्म तालमेल

सत्तारूढ पाँच राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले स्थानीय आवश्यकताअनुसार तालमेल गरेर जाने निर्णय गरेका हुन्।

काठमाडौंसहित ६ महानगरपालिकाको उम्मेदवार र तालमेलको टुंगो केन्द्रबाटै गर्ने समझदारी गठबन्धनका दलबीच भएको छ। अन्यको हकमा प्रदेश, जिल्लासहितका तल्लो निकायलाई अधिकार प्रत्यायोजन गर्ने समझदारी भएको एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए।

‘महानगरपालिकाको उम्मेदवारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्ने अधिकार तल्ला तहमा दिने सहमति भएको छ,’ खनालले बैठकपछि पत्रकारसँग भने, ‘चुनावी तालमेलका बाँकी प्रक्रियाबारे पुनः छलफल गरेर अगाडि बढ्नेछौं।’ त्यसका लागि कुन दलको प्रभाव र अवस्था केकस्तो छ भन्ने जानकारी लिन केन्द्रदेखि पालिका तहसम्म संयन्त्र गठन गर्ने निर्णय गठबन्धनले गरेको छ। त्यस्तो संयन्त्रले गठबन्धनको अहिलेको अवस्थाका विषयमा चैत २२ भित्र प्रतिवेदन बुझाइसक्नुपर्ने सहमति भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘प्रदेश, जिल्ला र स्थानीय तहमा पाँच दलको अवस्था कस्तो छ भनेर संयन्त्रले २२ गतेभित्र  प्रतिवेदन दिन्छ,’ मन्त्री कार्कीले भने, ‘पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर स्थानीय निर्वाचनको सामना गर्छ।’ स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी कस्तो हुन्छ भन्ने गठबन्धनमा रहेका दलहरूले टुंगो लगाइसकेका छैनन्। तर उनीहरू २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जुन पार्टीले प्रमुख जितेको छ, आगामी निर्वाचनमा पनि सोही पार्टीलाई नेतृत्व छाडिदिने मोडालिटीमा तालमेल गर्नेगरी छलफल अघि बढेको स्रोतको दाबी छ।

गठबन्धनबाहेकका दलहरूले जित निकालेका स्थानीय तहमा भने दलीय प्रभावलाई आकलन गरेर नेतृत्वसहितका पदहरू बाँडफाँटको पक्षमा दलहरू रहेको निकट स्रोतको दाबी छ। सञ्चारमन्त्री कार्कीले बैठकपछि सञ्चारकर्मीसँग राष्ट्रियसभा निर्वाचनमा भएको जस्तै स्थानीय तह चुनावमा पनि तालमेल हुने जानकारी दिए। माघमा भएको राष्ट्रियसभा निर्वाचनमा पहिला जुन पार्टीले जितेका थिए, त्यसमा सोही पार्टीलाई छाड्दै बाँकी स्थानमा मात्र गठबन्धनमा रहेका दलहरूबीच भागबन्डा भएको थियो।

बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरू मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए। अहिले सत्ता गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफू र आफ्नो दल रहेको बताउँदै देउवाले स्थानीय तह मात्र नभएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

स्थानीय आवश्यकता र अवस्थालाई पनि ख्याल गर्नुपर्नेमा जोड दिँदै देउवाले संयन्त्र गठन गरेर अहिलेको अवस्थाको आकलन गर्नुपर्ने प्रस्ताव अघि सारेको निकट स्रोतको दाबी छ। देउवाको प्रस्तावमा गठबन्धनमा रहेका अन्य दलले समर्थन जनाउँदै केन्द्रदेखि स्थानीय तहसम्म पाँच दलको गठबन्धन बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका हुन्।

त्यस्तै बैठकमा प्रधानमन्त्री देउवाको शुक्रबार सुरु हुन लागेको तीनदिने भारत भ्रमणको सफलताको शुभकामना दिँदै गठबन्धनका शीर्ष नेताहरूले दुई देशबीच सम्बन्ध सुधारका साथै सीमासहितका विवाद समाधान गर्न भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका थिए।

चुनावमा गठबन्धन थप एकताबद्धः देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई एकताबद्ध बनाएर अघि बढ्ने बताएका छन्। सबै अप्ठ्यारा छिचोल्दै आफूहरू अगाडि बढेको चर्चा गर्दै उनले भविष्यमा पनि अप्ठ्याराहरू छिचोलेर अघि बढ्ने बताए। ‘गठबन्धनका सबै दलको सहयोगमा म प्रधानमन्त्री बनेको हुँ। स्थानीय निर्वाचनमा पनि गठबन्धनलाई एकताबद्ध बनाएर अघि बढ्छौं,’ उनले भने।

रिपोर्टर्स क्लबको २४औं वार्षिकोत्वस कार्यक्रममा क्लबलाई शुभकामना तथा बधाई दिँदै देउवाले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए। उनले स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने समेत बताए। निष्पक्ष र स्वतन्त्र ढंगले चुनाव सम्पन्न गराउन उनले मिडियाको साथ र सहयोगका लागि आग्रह गरे। नेपालको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा मिडियाले निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको उनको भनाइ थियो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए। गठबन्धन आवश्यकताले जन्मिएको उनको कथन थियो। ‘कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने निर्णय गरिसकेको छ। अब यस विषयमा कुनै द्विविधा छैन’, उनले भने। मुलुकको संकटमोचनका लागि आफ्नो पार्टीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको उनले चर्चा गरे। ‘तर पनि सबैले माओवादीको भूमिकालाई स्वीकार नगरेको अवस्था छ,’ उनले भने।

दाहालले अर्थतन्त्र अहिले गम्भीर मोडमा पुगेको बताए। यस विषयमा बृहत्तर छलफल गर्न आवश्यक रहेको उनको भनाइ थियो। ‘अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ,’ उनले भने। अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ आफूहरूको प्रयास जारी रहेको उनले बताए। उनले भने, ‘नेपालमा श्रीलंकाजस्तो डरलाग्दो स्थिति उत्पन्न भयो भन्ने त होइन तर भोलि अप्ठ्यारो स्थिति आउन सक्छ।’

कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र र अर्थतन्त्रले राम्रोसँग खुट्टा टेक्न नसकेको बताए। बेलाबेलामा राजनीतिक नेतृत्वले गर्नुपर्ने काम नेपालमा मिडियाले उठाउने गरेको उनले चर्चा गरे। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरेका थिए। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी निर्वाचनमा दलहरूले गठबन्धन गर्दा संसदीय मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने बताएका थिए।

प्रकाशित: १८ चैत्र २०७८ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App