४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन्। यसबाहेक नयाँ विधानअनुसार केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्न बाँकी छ। ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरणका लागि सबै पदाधिकारी र सदस्यलाई खबर गरिसकेको र सो कार्यक्रमपछि पार्टी कार्यालयको ठूलो हलमा नै केन्द्रीय कार्यसमिति बैठक बस्ने उनले बताए। तेह्रौँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय समिति ८५ सदस्यीय थियो।

बैठकमा सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ। कांग्रेसले बैठकको निर्णयसहित शनिबार नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने सचिव रिजालले बताए।

आयोगले यसअघि सो प्रयोजनका लागि यही पुस १० गतेसम्म अन्तिम म्याद तोकी सूचना प्रकाशन गरेको थियो। कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका थिए।

यसैगरी केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचित भएका छन् भने केन्द्रीय सदस्य (महिला खुला) तर्फ नौ जना निर्वाचित छन्। यसैगरि, केन्द्रीय सदस्य खस–आर्य १३ जना, केन्द्रीय सदस्य मधेशीतर्फ चार महिलासहित नौ जना निर्वाचित भएका छन्।

कांग्रेसको सात दशक लामो इतिहासमा हालसम्म टङ्कप्रसाद आचार्य, बिपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र देउवा सभापति भइसकेका छन्। कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमै भएको थियो।

प्रकाशित: ९ पुस २०७८ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App