८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

परीक्षामा कांग्रेस पदाधिकारी

१३ सदस्यीय संरचनामा देउवा र खड्काबाहेक सबै नयाँ

नेपाली कांग्रेसका आठ सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहका उम्मेदवार हावी भएका छन्। मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न आठ सहमहामन्त्रीको मतगणनामा देउवा समूहबाट उम्मेदवार बनेका छ नेताले बाजी मारेका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा पिछडिएको क्षेत्र र दलितबाहेक अरू सबै समूहको सहमहामन्त्री देउवा पक्षीय नेताले हात पारेका छन्। पिछडिएको क्षेत्रबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार निर्वाचित भएका छन्। उनीहरू शेखर कोइराला टिमका उम्मेदवार हुन्।

त्यसबाहेक थारु, मधेसी, खसआर्य, मुस्लिमका साथै महिला र आदिवासी जनजातितर्फका सहमहामन्त्रीमा देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन्। देउवा समूहबाट मधेसीमा महेन्द्र यादव, खसआर्यमा किशोरसिंह राठौर,थारुमा उमाकान्त चौधरी र मुस्लिमतर्फ फरमुल्लाहा मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका बाजुराका पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पछि पार्दै सहमहामन्त्रीमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। शाहीलाई २ सय ७८ मतान्तरले पछि पारेका पाण्डेले २ हजार ४ सय ११ मत प्राप्त गरेका छन्।

शाहीले २ हजार १ सय ३३ मत प्राप्त गरे भने सोही समूहका अर्का उम्मेदवार चेतराज बजालले ९९ मत पाएका छन्।

त्यस्तै खसआर्यतर्फको सहमहामन्त्रीमा राठौर निर्वाचित भएका छन्। नेपाली कांग्रेस विभाजन भएर गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकतर्फको नेपाल विद्यार्थी संघको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका राठौरले देवराज चालिसेलाई ५ सय १७ मतान्तरले हराए।

उनले २ हजार ५ सय ७६ मत ल्याएका छन् भने चालिसे २ हजार ५९ मतमा समेटिए। मुस्लिम सहमहामन्त्रीमा शेख वकिललाई ९ सय १ मतान्तरले पछि पार्दै मन्सुरले आफ्नो स्थान सुरक्षित गरेका हुन्। मन्सुरले २ हजार ७ सय ७६ मत पाए भने वकिलले १ हजार ८ सय ७५ मत प्राप्त गरे।

शुक्रबार नै सम्पन्न थारुतर्फको सहमहामन्त्रीमा खानेपानी मन्त्रीसमेत रहेका चौधरी निर्वाचित भएका छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट चौधरीले कोइराला समूहका उम्मेदवार तेजुलाल चौधरीलाई ८ सय ७९ मतले पछि पारे। उमाकान्तले २ हजार ७ सय ५६ मतसहित जित निकाले भने तेजुलाल १ हजार ८ सय ७७ मतमा समेटिए।

मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भए। उनी रामकृष्ण यादवलाई पछि पार्दै निर्वाचित भएका हुन्। महेन्द्रले २ हजार २६ मत ल्याउँदा रामकृष्णले १ हजार ८ सय २० मत पाएका छन् भने सोही समूहका अर्का प्रतिस्पर्धी रन्जित कर्णले ४ सय ७२ मत पाए।

कर्णले निर्वाचनअघि उम्मेदवारी फिर्ता गरेको दाबी गरे पनि कोइराला समूहका रामकृष्णको पराजयको कारण उनै बन्न पुगेका छन्। यसअघि बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे सहमहामन्त्रीमा निर्वाचित भइसकेका छन्। उनीहरू देउवा समूहकै उम्मेदवार हुन्।

यससँगै कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काबाहेक सबै नयाँ अनुहार निर्वाचित भएका छन्। पार्टीको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा अहिले पनि सभापतिमा दोहोरिएका छन्। सभापतिका चार प्रत्यासीलाई पछि पार्दै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

त्यस्तै देउवाले महामन्त्रीमा मनोनीत गरेका पूर्णबहादुर खड्का १४औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित भएका छन्। दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्काले सबैभन्दा धेरै मत पाएका छन्। खड्कासँगै यसअघि कांग्रेस महामन्त्रीमा शशांक कोइराला थिए। १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित शशांक १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन्।

पार्टीको उपसभापतिको जिम्मेवारीमा रहेका विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरे। २०७४ कात्तिकमा उपसभापतिको जिम्मेवारीसहित विजयकुमार गच्छदार कांग्रेस प्रवेश गरेका थिए।

२०६४ सालमा कांग्रेस छाडेका गच्छदार एक दशकपछि फेरि पुरानै पार्टी फर्केका थिए। तर कांग्रेस नेता तथा कार्यकर्ताले उनलाई पार्टीको पुरानै जिम्मेवारी उपसभापतिमा फर्काएनन्। उनी दुई मतले नेता धनराज गुरुङसँग पछि परे।

१३औं महाधिवेशनपछि सहमहामन्त्रीमा मनोनीत प्रकाशशरण महत आफूभन्दा कनिष्ठ सदस्यसँग महामन्त्रीमा पराजित भए। सभापति देउवाका विश्वासमात्रमध्येका एक महत आफूभन्दा झन्डै डेढ दशक कान्छा गगनकुमार थापा र विश्वप्रकाश शर्माबाट पराजित भएका हुन्।

२०३३ सालमा जन्मेका थापा र २०२७ सालमा जन्मेका शर्माले २०१६ मा जन्मेका पार्टीका अनुभवी नेता महतलाई महामन्त्रीमा फराकिलो अन्तरले पराजित गरे। यससँगै महत पनि कांग्रेस पदाधिकारी बन्ने सम्भावना अन्त्य भएको छ।

पार्टी कोषाध्यक्षको जिम्मेवारीमा रहेकी सीतादेवी यादव १४औं महाधिवेशनमा कुनै पनि पदमा प्रत्यासी छैनन्। पूर्वमहामन्त्री एवं कांग्रेसका पाका नेता कुलबहादुर गुरुङमात्र होइन, सभापतिका आकांक्षी रामचन्द्र पौडेल पनि यो महाधिवेशनमा प्रतिस्पर्धाबाहिर छन्।

आफ्नो नाममा सहमति जुट्न नसकेपछि असन्तुष्ट पौडेल नेतृत्व चयनका लागि भएको मतदानमा सहभागी नै बनेनन्। गुरुङ भने नेतृत्व चयनमा सहभागी भए, प्रतिस्पर्धामा उत्रिएनन्। अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि उम्मेदवारी दिएनन्। पौडेल र सिटौला १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका थिए।

पूर्वमहामन्त्री प्रकाशमान सिंह सभापतिकै प्रतिस्पर्धामा उत्रिए भने पूर्वउपसभापति गोपालमान श्रेष्ठले केन्द्रीय सदस्यको उम्मेदवारीमा चित्त बुझाए। श्रेष्ठले पनि सभापतिको प्रत्यासी बन्ने दाबी गर्दै आएका थिए। पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस सहमहामन्त्रीको जिम्मेवारी पाएका सुनिलबहादुर थापा पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन्।

कांग्रेसका पाका तथा प्रभावशाली नेताहरूले आफूलाई सभापतिको प्रतिस्पर्धा वा सदस्यमा मात्र सीमित गर्दा झन्डै ८० वर्ष उमेरनजिक पुगेका देउवाका सारथी भने ५० आसपासका नेता बन्न पुगेका छन्।

नेतृत्वमाथि प्रश्न गर्दै पार्टी र राष्ट्रिय राजनीतिमा स्थान बनाएका युवालाई समेट्दै देउवाले दोस्रो कार्यकाल सञ्चालन गर्नुपर्नेछ। पार्टीको जिम्मेवारीबाहिर रहेका नेताहरूलाई पनि साथै लिएर अघि बढ्नुपर्ने चुनौती छ।

पार्टीभित्रका विद्यमान गुटहरू तितरबितर भएको विश्लेषण कांग्रेसभित्र गरिएको छ। तर सभापतिमा प्रतिस्पर्धासँगै पार्टीमा मात्र होइन,राज्यका निकायहरूमा पनि भाग खोज्ने भाष्य १३औं महाधिवेशनपछि देउवाले नै स्थापित गरेका छन्। १४औं महाधिवेशनपछि पनि त्यसले निरन्तरता पाउँदा कांग्रेसमा गुट अन्त्य होइन,थप झांगिने देखिन्छ।

आफ्नै समूहभित्र रहेका उपसमूहको सन्तुलन मिलाउनुपर्ने चुनौती त देउवालाई छँदैछ, त्यस अतिरिक्त १४औं महाधिवेशनमा चुनावी तालमेल गरेको सिटौला समूहलाई मात्र होइन, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई पनि साथ लिनुपर्ने दबाब देउवामाथि पर्ने देखिन्छ।

नेतृत्वको प्रतिस्पर्धाबाहिर रहेका रामचन्द्र पौडेललाई मात्र होइन, पूर्वमहामन्त्री शशांक कोइरालालाई विश्वासमा लिएर अघि बढ्नुपर्ने चुनौती पनि देउवासँग छ। ४० प्रतिशत मतसहित उपस्थित शेखर कोइराला समूहलाई बेवास्ता गरेर अघि बढ्ने अवस्था पनि देउवासामु हुनेछैन।

देउवाले अब नेपाल विद्यार्थी संघमार्फत राजनीति सुरु गरेका र २०४६ को राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिमा प्रवेश गरेका नेतालाई साथ लिएर अघि बढ्नुपर्ने हुन्छ।

एक वर्षभित्र हुने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन परिणाम कांग्रेसको पक्षमा पार्न सन्तुलन र समन्वयकारी भूमिका देउवाले निर्वाह गर्न सक्छन् कि सक्दैनन्? सबैभन्दा चुनौती देउवाका लागि यही हुनेछ। प्रश्न गर्ने ठाउँबाट आफैंले उठाएका प्रश्नको जवाफ दिने ठाउँमा पुगेका कांग्रेसका नवनिर्वाचित पदाधिकारीको परीक्षा पनि सुरु भएको छ।

प्रकाशित: ३ पुस २०७८ ००:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App