५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने कार्यतालिका एक दिन पर सरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु राष्ट्रिय अधिवेशनका लागि चितवनमा रहेका कारण मंगलबारका लागि तय गरिएको विश्वासको मत लिने कार्यतालिका एक दिन सारिएको हो। ‘संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु पार्टी अधिवेशनका लागि चितवनमा रहेकाले एक दिन ढिलो गरेर मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने तय भएको छ,’ कांग्रेस सांसद हिमबहादुर शाहीले भने, ‘बुधबार मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ।’  

मुख्यमन्त्री शाहीले विश्वासको मत दिने प्रयोजनका लागि मंगलबार दिउँसो १ बजेका लागि संसद बैठक आव्हान गरिएको छ। एमालेले मंगलबारको संसद बैठकमा आफूहरु उपस्थित हुन नसक्ने जनाएकाले एक दिन ढिलो गरेर विश्वासको मत लिने तय भएको उनले जनाए। विश्वासको मत लिँदा प्रमुख प्रतिपक्षी दल अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था संविधानमा छैन्।  

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्षी दल उपस्थित नभएपनि प्रक्रिया अघि बढ्ने बताए। उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि बैठकमा अनुपस्थित गराउनका लागि मुख्यमन्त्रीलाई समन्वय गर्न आफुले सुझाव दिएको बताए। ‘समन्वय हुँदाहुँदै पनि प्रतिपक्षी अनुपस्थित भएमा विश्वासको मत लिने प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘विश्वासको मत लिँदा प्रमुख प्रतिपक्षी दलको अनिवार्य उपस्थित हुनुपर्ने कतै लेखिएको नभएपनि परम्परा अनुसार प्रमुख प्रतिपक्षी दल उपस्थित भए राम्रो सन्देश जान्छ।’  

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलावजंग शाहले आफूहरु पार्टीको राष्ट्रिय महाधिवेशनमा व्यस्त रहेकाले संसद बैठकमा उपस्थित हुन नसक्ने बताए। ‘संसद बैठक आव्हान गर्नुअघिनै हाम्रो अधिवेशन तय थियो,’ उनले भने, ‘अहिले पार्टीको निर्वाचन प्रक्रियाका लागि मतदानमा सहभागी छौं, विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा उपस्थित हुन सक्ने अवस्था छैन्।’

मंगलबारको बैठकमा संसद आव्हान सम्वन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढरे सुनाउने, दलीय आधारमा संसदमा बोल्न समय दिने, मुख्यमन्त्रीका लागि विश्वासको मत माग्न प्रस्ताव टेबल गर्ने, मतदान प्रक्रियामा जाने र निर्णय सुनाउने कार्यातालिका रहेको छ।

प्रकाशित: १४ मंसिर २०७८ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App