६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको १४ औं महाधिवेशनः चिसोले डोल्पाका तीन पालिकामा निर्वाचन भएन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि यसअघि निर्वाचन हुन नसकेका १२ वटा जिल्लामा वडाधिवेशन भइरहेका छन्। अधिकांसमा सहमतिमै नेतृत्व चयन भएपनि केही वडाहरुमा निर्वाचन भएका छन्। तर, हिमाली जिल्ला डोल्पाका तीन वटा पालिकामा भने वडामा निर्वाचनको कुनै चहलपहल भएन। भौगोलिक विकटता र अत्यधिक चिसोका कारण तीनवटा हिमाली पालिकाहरुमा निर्वाचन हुन नसकेको हो।

निर्वाचत अधिकृत कुमारराज श्रेष्ठका अनुसार छार्काताङसोङ, से–फोक्सुण्डो र डोल्पोबुद्ध गाउँपालिकामा निर्वाचन हुन नसकेको हो।

‘हिमाली क्षेत्रमा हिउँ पर्नुका साथै अत्यधिक चिसो बढेको छ,’ निर्वाचनका लागि डोल्पामा खटिएका श्रेष्ठले भने, ‘समय र जनशक्ति पनि अभाव हुँदा तीन वटा पालिकामा अधिवेशन गर्न सम्भव भएन।’

डोल्पा सदरमुकाम दुनैदेखि डोल्पोबुद्ध गाउँपालिकाका वडाहरुमा पुग्न कम्तिमा पाँचदेखि सात दिनसम्म पैदय यात्रा गर्नुपर्छ। छार्काताङसोङ पुग्न सदरमुकामदेखि तीन दिनको यात्रा गर्नुपर्छ। निर्वाचन अधिकृत श्रेष्ठले समय कम हुँदा निर्वाचनका लागि निर्वाचन अधिकृतसमेत आफूले नपाएको बताए।

‘६५ मध्ये ४४ वडामा अधिवेशन गर्नका लागि १८ जना मात्रै जनशक्ति प्राप्त भयो,’ उनले भने, ‘एउटैलाई दुई–तीन वडासम्म जिम्मा लगाउनु पर्यो।’  

कांग्रेसले स्थानीयस्तरमा निर्वाचन गराउनका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई निर्वाचन अधिकृतका रुपमा खटाउने निर्णय गरेको थियो। दशैं–तिहार मनाउन गएका शिक्षकहरु नफर्केकाले वडाधिवेशनका लागि निर्वाचन अधिकृतसमेत पाउन मुस्किल भयो।

निर्वाचन नभएका तीन वटा पालिकामा २१ वटा वडा छन्। कांग्रेस विधान अनुसार वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडाका क्रियाशील सदस्यहरुले छनोट गर्छन्। क्षेत्रीय प्रतिनिधि र वडासभापतिले गाउँ नगरपालिका अधिवेशनमा सहभागी हुन पाउँछन्।

डोल्पाका तीन वटा पालिकामा निर्वाचन नहुँदा वडा कार्यसमिति मात्रै होइन्, पार्टीको महाकुम्भमा पनि यहाँका कांग्रेसजन सहभागी हुनबाट बञ्चित भएका छन्।

डोल्पा र सुर्खेतमा संस्थापनको वर्चश्व

कर्णालीका १० जिल्लामध्ये यसअघि निर्वाचन हुन नसकेका सुर्खेत र डोल्पा जिल्लामा वडाधिवेशन भइरहेका छन्। अधिकांसमा सर्वसम्मत र केही वडामा निर्वाचन भएका छन्। डोल्पाका ६५ मध्ये ४४ वडामा मात्रै अधिवेशन भएको छ। ४४ मध्ये नौ वडासभापति मात्रै रामचन्द्र पौडेल समूहका निर्वाचित भएका छन्। बाँकी ३५ वडाको नेतृत्व संस्थापन (शेरबहादुर देउवा) समूहले लिएको छ। डोल्पाको ठूलीभेरी नगरपालिकाका ११ वडा मध्ये ९ संस्थापन र २ पौडेल समूहका वडाध्यक्ष विजयी भएका छन् भने त्रिपुरासुन्दरी नगरपालिकाका ११ मध्ये आठमा संस्थापन र तीनमा पौडेल समूहका वडाध्यक्ष विजयी भएका छन्।

यस्तै काइके गाउँपालिकाका सात वडामध्ये एकमा पौडेल समूह र बाँकी वडाको नेतृत्व संस्थापन समूहले पाएको छ। जगदुल्लाका छ वटै वडाको नेतृत्व संस्थापन समूहले लिएको छ भने मुड्केचुला गाउँपालिकाका नौ वडामध्ये दुई पौडेल समूह र बाँकी संस्थापन समूहले वडाध्यक्षमा बाजी मारेको छ।

यस्तै कर्णाली प्रदेशको राजधानीको जिल्ला सुर्खेतमा पनि संस्थापन समूहले वडामा वर्चश्व कायम गरेको छ। सुर्खेतका ९९ वडामध्ये आठ वटा वडाको नतिजा आउन बाँकी छ। बाँकी ९१ वडा मध्ये १२ वटा वडाको नेतृत्व पौडेल समूहले पाएको छ भने ७९ वटा वडाको अध्यक्षमा संस्थापन समूह विजयी भएको छ।

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरका १६ वडामध्ये चार वडाको नतिजा आउन बाँकी छ। नतिजा आएका १२ वडा मध्ये संस्थापन समूहले ११ वडाको नेतृत्व हत्याएको छ भने एक वडामा पौडेल समूहका सभापति निर्वाचित भएका छन्। यस्तै गुर्भाकोटका १४ वटै वडा, भेरीगंगाका १३ वटै वडा, लेकवेशीका १० वटै वडा र सिम्ता गाउँपालिकाका नौ वटै वडामा संस्थापन समूह विजयी भएको छ।

पञ्चपुरी नगरपालिकाका ११ वडामध्ये १० वडाको नतिजा आएको छ। यहाँ सात वडा संस्थापन र तीन वडाको नेतृत्व पौडेल समूहले लिएको छ।

बराहताल गाउँपालिकाका १० वडामध्ये छ वडामा संस्थापन र चार वडामा पौडेल समूहका अध्यक्ष निर्वाचित भएका छन् भने चिंगा गाउँपालिकाका छ वडामध्ये दुई वडामा पौडेल समूह र चार वडा सभापतिमा संस्थापन समूह विजयी भएका छन्।

प्रकाशित: २८ कार्तिक २०७८ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App