२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मेहेनत र परिश्रमले मान्छेलाई महान् बनाउँछः सभामुख सापकोटा

सभामुख अग्नीप्रसाद सापकोटाले मान्छेलाई मेहेनत र परिश्रमले महान बनाउने भएकाले जीवनमा मेहेनत आवश्यक रहेको बताएका छन्।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ खड्पुमा रहेको एसओएस बालग्राम नेपालले ३५औँ एसओएस अन्तर्राष्ट्रिय दिवस २०२१ का अवसरमा आज आयोजित ‘सन् २०२० मा एसओएस बालग्राम काभ्रेलाई उल्लेख्य योगदान दिने व्यक्तित्व सम्मान’ कार्यक्रममा उनले कुनै पनि काम सानो र ठूलोको रुपमा नलिई त्यसलाई गम्भीररुपमा लिएर राम्रोसँग अवलम्बन गरेमा मानवीय जीवन सफल र खुशी हुने विश्वास व्यक्त गरे।

उनले एसओएस बालग्रामले मानव सेवाको लागि थकाइको महसुस नगरिकन जीवन, जगत, मानवजाती र प्राणी जगतका लागि सङ्घर्ष गरेकाले त्यसमा लागेर सेवा गरिरहेकाबाट काम र व्यवहारले देखाएर उदाहरणीय बनेको बताए। मान्छेले सत्य र निष्ठाको कुरा गरिरहँदा उसको जीवनशैली र चरित्र कस्तो छ भन्नेले ठूलो अर्थ राख्ने भएकाले त्यसको नमुना काम बालग्रामले गरेर देखाएकामा खुशी व्यक्त गरे। उनले अझै पनि अध्ययन, ज्ञान र मेहेनतको आवश्यक रहेकाले बालग्राममा अध्ययन गरिरहेका विद्यार्थी बालबालिकालाई मेहनतको विकल्प नभएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे। मेहेनत र ज्ञानको विकल्प खोज्न थाल्यौँ भने मान्छेले केही गर्न नसक्ने उल्लेख गर्दै उनले सङ्घर्ष, मेहेनत र अध्ययनको लागि जोड दिए।

सफल मान्छे बन्नका लागि पर्याप्त सामग्री रहेको बताउँदै सभामुख सापकोटाले मानवीय जीवनका लागि सरसफाइ महत्वपूर्ण भएको बताउँदै बालग्रामलाई सफा बनाउन भूमिका खेल्ने सफल उदाहरण भएको बताए। राम्रो बन्नका लागि सबैले निष्ठाका साथ काम गर्न आवश्यक रहेको उनको भनाइ छ। सो क्रममा उनले सङ्घीयसभाको सभामुख भएको कारण समस्त बालबालिकाको लागि बालबालिकाको हितमा संसदबाट ऐन, कानुन र नियम बनाउन उपयुक्त भूमिका खेल्ने बताए।

कार्यक्रममा सम्मानिततर्फबाट आफ्नो धारणा राख्दै पत्रकार मोतिराम तिमल्सिनाले टुहुरा बालबालिका, अभिभावक भएर पनि राम्रो शिक्षादीक्षा दिन नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेको बालग्रामलाई सङ्घ, प्रदेश र स्थानीय सरकारबाट पनि आवश्यक सहयोग, संरक्षण र सम्बर्द्धनका लागि समन्वय र सहजीकरण गर्न आवश्यक रहेको बताए।

एसओएस बालग्रामका निर्देशक सुरेन्द्र अमगाईले राज्यको उपस्थितिमा नै आफूहरूले मावन सेवाको काममा लागिरहन अवसर पाएको बताए। सो अवसरमा बालग्रामले ‘सबै बालबालिकाका लागि मायलु घर’ स्थापना गर्ने लक्ष्य प्राप्तीका लागि विभिन्न तहबाट सहयोग पुर्‍याउने व्यक्तिलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा नेपाली सेनाका सेनानी प्रविण थापा, पत्रकार मोतिराम तिमल्सिना, श्रीधर न्यौपाने, तृप्ती शाही, सुरज आचार्य, सुजना ढकाल, सुजाता खत्री र बालग्रामका मुक्ति नारायण काफ्ले, पार्वती गुरुङ, कमल भगत थारु, ईन्द्र थापा, सत्यनारायण महर्जन र बन्दुमाया राई रहेका छन्।

बालग्राम खड्पुमा अहिले १३३ जना बालबालिका बालग्राममा आस्रित छन् भने त्यही विद्यालयमा अध्ययनरत विद्यार्थी ७२० जना, एकल परिवारमा हुर्केर बालग्रामभन्दा बाहिर रहेर पनि एसओएस बालग्रामले सहयोग गर्ने ५९८ जना र युवा १५० जना गरी  गरी एक हजार ६०१ को अभिभाकत्व ग्रहण गरिरहेको एसओएस हर्मन माईनर स्कूल काभ्रेपलाञ्चोकका प्रिन्सिपल नरेश्वर आचार्यले बताए।

प्रकाशित: २६ कार्तिक २०७८ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App