नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बधाई लिन काठमाडौँ पुगेका डा. धवलशमशेर राणाले एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘एउटा सुन्दर, सुरक्षित, विकसित, भ्रष्टाचाररहीत र सुशासित सहर बनाउने अवधारणा लिएको छु।’ सुन्दरताभित्र के¬के पर्छ, विकसित, भ्रष्टाचाररहीत र सुशासित कसरी बनाउने भन्ने प्रस्तोताको प्रश्नमा उनी लामो जवाफ दिँदै भन्छन्, ‘बाटोघाटो राम्रो हुनु पर्यो। पहिला पनि बनाएकै हो। बाटो खाल्डोरहीत, वातावरण र पार्कहरू राम्रो हुनुपर्छ। गुण्डागर्दी र हप्ता उठाउन नदिने, म सुरक्षित छु भन्ने जनतालाई अनुभूति गराउनुपर्छ।’ मेयर डा. राणाले यी संवाद केवल टेलिभिजनमा मात्र गरेका होइनन्, यही सवाल र विषयलाई चुनावताका चुनावी एजेण्डा पनि बनाएका थिए।
उनले व्यापार व्यवसायको सुरक्षादेखि फोहोर व्यवस्थापनसम्मको र सुन्दर बस्नलायक, विकसित र महानगर उन्मुख सुन्दर सहर बनाउने सुन्दर सपना बाँडे।
यतिबेला मेयर राणाले बाँडेका सुन्दर सपनाको समीक्षा गर्नेबेला आएको छ। के नेपालगन्जका मेयर राणाले परिकल्पना गरेजस्तो सुन्दर, सुशासित, भ्रष्टाचाररहीत र महानर उन्मुख सहर छ त? उनको चार वर्षे कार्यकाललाई फर्केर हेर्दा उनका सपनाअनुसार बदलिएको जस्तो आभाष नागरिकले गरेका छैनन्। दैनिक चोरीका घटनाले यहाँका नागरिक असुरक्षित महसुस गर्छन्। हत्या, अपहरण जस्ता घटना न्यूनीकरण भएको भए मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडित परिवार र महिला अधिकारकर्मीहरू न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गर्नुपर्ने अवस्था हुने थिएन।
नागरिकले यतिबेला ठूल्ठूला राजनीतिक विकास र ठूलो परियोजनाहरुको अपेक्षा गरेका छैनन्। नागरिकले सामान्य दैनिक निर्वाहदेखि सुरक्षित बसोबासको आश गरेको चार वर्ष पुगिसक्यो। अवस्था जहाँको तहीँ। ‘जनप्रतिनिधि आएपछि रोजगारी पाइन्छ। हाम्रो जीवन बदलिन्छ भन्ने हल्ला थियो,’ नेपालगन्ज उपमहानगरपालिका–१८ की एक महिलाले भनिन्, ‘चुनावमा भोट होलेको चार वर्षसम्म पनि मेरो अवस्था उस्तै छ।’ उनी ज्याला मदजुरी गरेर दैनिकी चलाउँछिन्। त्यतिबेला पनि महिनाभरि काम पाउँदैन थिइन्, अहिले पनि महिनामा १०÷१२ दिनमात्र काम पाउँछिन्।
मेयर रानाको कार्यकालमा नगरभित्रका सडकहरू कालोपत्रे भएका छन्। तर ति कालोपत्रे नगरको योजना कमै मात्रामा हुन्। स्वर्गीय शुसिल कोइराला प्रधानमन्त्री हुँदा एडीबी परियोजनाले काम थालेको थियो। स्थानीय तहको चुनावभन्दा अघि कागजी प्रक्रियामा थियो। चुनावपछि उक्त परियोजनाले फिल्डमा काम गरेको थियो। पुरानो योजनाको फाइदा मेयर रानाले लिन खोजेको देखिन्छ।
‘नगरभित्रका सडक बनाउने योजना कांग्रेसको बलबुतामा आएको हो,’ नेपाली कांग्रेसका एकजना नेताले भने, ‘यदि पूर्वप्रधानमन्त्री स्वर्गीय कोइराला र नेपाली कांग्रेस नलागेको भए यो परियोजना अन्य जिल्लामा जान्थ्यो।’ आफू प्रधानमन्त्री हुँदा स्वर्गीय कोइरालाले उक्त परियोजना ठूलो कसरतपछि नेपालगन्ज भित्र्याएका थिए। उक्त परियोजनाले नेपालगन्जको सडक विस्तारमा भने ठूलो राहत पुर्याएको छ।
कुनैबेला मध्य र सुदूरपश्चिमका २४ जिल्लाको केन्द्रका रूपमा रहेको नेपालगन्ज संघीय तथा प्रदेश राजधानीका लागि प्रस्तावितसम्म भएन। अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगाह, विशेष औद्योगिक क्षेत्र, रिङरोड, नेपालगन्ज विश्वविद्यालय र हुलाकी सडकजस्ता नेपालगन्जको विकासका आधार लामो समयदेखि अलपत्र अवस्थामा छन्। तर ती योजनाहरूलाई कार्यान्यनको तहमा लैजान सक्ने आँट र क्षमता मेयर राणमा देखिएको छैन।
असुरक्षित यात्रा
नेपालगन्ज सहरभित्र पैदल यात्रु असुरक्षित भएर हिँड्न बाध्य छन्। फुटपाथसमेत नगरपालिकाले व्यवस्थित गर्न सकेको छैन। पैदलयात्री हिँड्ने फुटपाथ व्यापारीको कब्जामा छ। सडकभरि यत्रतत्र अव्यवस्थित पार्किङ छ। जसलाई छिचोल्दै सर्वसाधारण असुरक्षित भएर हिँड्नु पर्ने अवस्था छ। फुटपाथलाई व्यवस्थित गरेर नागरिकलाई सुरक्षित फुटपाथमा हिँडउन जस्तो सामान्य काममा समेत नगर चुकेको छ। छाडा पशुचौपायाले यात्रामा जोखिम बढाएको छ।
प्रकाशित: ७ कार्तिक २०७८ १२:०१ आइतबार