२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

एक उपाध्यक्षसहित ११ जना वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा

नेकपा एमाले जुम्लाबाट सूर्य चिन्ह लिएर जनप्रतिनिधि बनेका एक उपाध्यक्ष, ११ वडाध्यक्ष सहित ४४ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।  जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुुसार अहिले पाँच बजेसम्म ४४ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन्।  

२१ दिनभित्र सनखत गर्न निर्वाचन कार्यालयले एमालेका जनप्रतिनिधिलाई सूचना जारी गरेको थियो। जुम्लामा नेकपा एमालेले १ अध्यक्ष, १ उपाध्यक्ष, १७ वडाध्यक्ष जितेको थियो। यसैगरी १८ जना महिला सदस्य, १३ जना दलित सदस्य, अन्य ४५ जना गरेर ९५ जना जनप्रतिनिधि जितेको थियो। जसमध्ये एक जनाको मृत्यु भइसकेको छ। तीन जना काँग्रेस पार्टीमा प्रवेश गरिसकेका छन्। अहिले कूल ९१ जना जनप्रतिनिधि थिए।  

९१ जनामा ४४ जनाले सनाखत गरेका हुन्। एकीकृत समाजवादीमा सनाखत गर्नेमा सिँजागाउँपालिका उपाध्यक्ष जन्म कन्य खत्री रहेकी छिन्। वडाध्यक्षहरुमा कनकासुन्दरीका धनजीत रोकाया, सिँजा गाउँपालिकाका धनबहादुर बुढा, मुनबहादुर रावत, हिमा गाउँपालिकाका नैनसिंह बुढा, सर्पजित भण्डारी, चन्दननाथ नगरपालिकाका नरजीत दमाइ, नरविर रावल, अजबहादुर रावल, गुठिचौर गाउँपालिकाका गणेश ऐडी, पृथ्वीबहादुर बुढा र पातारासी गाउँपालिकाका लालबहादुर बुढाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन्।    

देशमा संघीयता खारेज गर्ने, पार्टी सञ्चालनमा मनपरी गर्ने र विधि प्रक्रिया मिच्ने काम गरेकोले एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गरेको गुठिचौर गाउँपालिका १ का वडाध्यक्ष गणेश ऐडीले जानकारी दिए। उनले नेपाललाई र संघीयतालाई बचाउनको लागि एकीकृत समाजवादीमा लागेको बताए।  

जुम्लाको कुल ६१ जनाको एमाले जिल्ला समितिमा ५८ जनाले एकीकृत समाजवादी रोजेका थिए। जिल्ला समितिमा एकलौटी वर्चश्व जमाएको समाजवादीले जनप्रतिनिधिमा पनि वर्चश्व जमाएको हो।

नेकपा समाजवादीका नेता आदीप्रसाद न्यौपानेले जिल्ला बाहिर रहेका र बिरामी गरेर ६ जनाले सनाखत गर्न बाँकी रहेको बताए। दुई जनाले काठमाडौँ निर्वाचन कार्यालयमा सनाखतका लागि गए पनि जिल्ला बाहिर सनाखत नहुने भन्दै फर्किएका थिए। पार्टी र जनप्रतिनिधि दुइटैमा एमालेभन्दा एकीकृत समाजवादी बलियो देखिएको हो।  

प्रकाशित: २२ भाद्र २०७८ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App