७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशः सांसद कारबाहीको माग गर्दै सदन अवरुद्ध

लुम्बिनीमा सत्तारुढ गठबन्धनका दुई सांसदलाई कारबाहीको माग गर्दै एमालेले दोश्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो। बुधबार संसद बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सदनको कारबाही अगाडि बढ्न सकेन।  

एमालेले गठबन्धनका दुई जना सांसदलाई आफ्नो दलको भएको दावी गर्दै चल्न नदिएको हो। उसले कारबाही गरेका भनिएका सांसदहरु अजय शाही र बिमला खत्रीलाई पदमुक्त गरेको सूचना जारी नगर्दासम्म संसद चल्न नदिने भनेको छ। शाही र खत्रीलाई पदमुक्त गर्न संसद सचिवालयमा मंगलबार निवेदन दर्ता गराएको थियो।

गठबन्धनलाई साथ दिएका खत्री र शाहीलाई आफ्नो दलको दावी गर्दै कारबाहीको माग गरेको एमालेले उनीहरु विरुद्ध पर्याप्त प्रमाण भने पेश गर्न सकेको छैन। एमाले संसदीय दलले शाही र खत्रीलाई कारबाही गरेको भन्ने व्यहोराको पत्र सचिवालयमा बुझाएपनि आवश्यक प्रक्रिया अगाडि बढाउन सो पत्र पर्याप्त नभएको ससंद सचिवालयले जनाएको हो। सभामुख पूर्णबहादुर घर्तीले पार्टीले सोधेको स्पष्टीकरण र त्यसको जवाफ, दलको बिधान लगायत आवश्यक कागजात सचिवलायलाई प्राप्त नभएको बताए। 

एमालेले कारबाही गरेको भनिएका शाही स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र खत्रीले सर्वोच्चले दिएको दल रोज्न पाउने अधिकार अनुरुप माओवादी केन्द्र रोजेको लिखित जानकारी सचिवालयमा पहिलेदेखि रहेकाले उनीहरुलाई कारबाही गर्न यथेष्ट प्रमाण र कागजात आवश्यक पर्ने सभामुख घर्तीले बताए। ‘एउटै पत्रको आधारमा उहाँहरुलाई कारबाही गरीएको सूचना जारी गर्न कानूनी जटिलता देखिन्छ’, सभामुख घर्तीले भने।

एमालेले कारबाही गरेको भनिएको शाही गठबन्धन सरकारका मन्त्री छन्। उनले सुर्य चिन्ह लिएर स्वतन्त्र समूहबाट चुनाव जितेका थिए। पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (ख)बाट निर्वाचित सांसद शाहीले आफू स्वतन्त्र रुपमा निर्वाचन लडेर जितेकाले एमालेको ह्वीप नलाग्ने दावी गरीरहेका छन्।

सांसद खत्री नेकपाबाट निर्वाचित भएकी हुन्। दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेश सांसदमा निर्वाचित खत्रीले गत वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन्। प्रदेश सभा सचिवालयमा उनको विवरणमा दल माओवादी केन्द्र उल्लेख छ। खत्रीले माओवादी केन्द्र रोजेपछि एमालेले उनलाई आफ्नो दलमा फर्काउन निरन्तर दबाब दिँदै आइरहेको थियो। एमालेमा फर्कन नमानेपछि साउन १५ गते अपहरणशैलीमा मुख्यमन्त्री निवास ल्याएर पाँच दिन बन्धक बनाएको आरोप समेत एमाले दलका नेता तथा निर्वतमान मुख्यमनत्री शंकर पोखरेलमाथि लागेको छ।

एमालेले यी दुई सांसद आफ्नो दलको बैठकमा सहभागी भएकाले दल परिवर्तन गर्न नपाउने भन्दै कारबाहीको माग गरीरहेको छ। एमाले सचेतक भुमिश्वर ढकालले शाही र खत्रीलाई पदमुक्त गरेको सूचना जारी नहुँदासम्म संंसद चल्न नदिने दोहोर्‍याए। सभामुख पूर्णबहादुर घर्तीले भने संवैधानिक व्यवस्था र संसदीय मूल्य मान्यता अनुरुप सदन संचालन हुने बताएका छन्।

प्रकाशित: २ भाद्र २०७८ १४:२४ बुधबार

लुम्बिनी प्रदेश सांसद कारबाहीको माग