४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ नीति तथा कार्यक्रममाथि सत्तारुढ सांसदले नै गरे आलोचना

प्रदेश १ को सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षी दलका सांसदहरूले मात्रै हैन, सत्तापक्षका सांसदहरूले पनि आलोचना गरेका छन्।

शनिबारको प्रदेशभा बैठमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिने सत्तारुढ दल नेकपा एमालेका सांसदहरूसमेत नीति तथा कार्यक्रमको आलोचना गरेका हुन्।  

सत्तारुढ नेकपा एमालेका सांसद उपेन्द्र घिमिरेले सरकार सत्तापक्षका सांसदहरूदेखि डराएको आरोप लगाए। सांसद घिमिरेले सत्तापक्षका सांसदहरुलाई चिठ्ठी लेखेर निति तथा कार्यक्रमको पक्षमा बोल्न लगाइएको बताए।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीद्वारा मुख्यमन्त्री शेरधन राईको हवाला दिएर नीति कार्यक्रमको पक्षमा बोल्न चिठी पठाएको प्रदेशसभा बैठकमा घिमिरेले बताए। नीति तथा कार्यक्रमको पक्षमा बोल्नकै लागि चिठी लेखिनु संसदीय अभ्यासको गरिमालाई ठेस पुग्ने क्रियाकलाप भएको घिमिरेको भनाइ छ। ‘सरकारलाई आफ्नै सांसदहरूप्रति समेत विश्वास रहेन छ’ घिमिरेले भने ‘नीति तथा कार्यक्रमको पक्षमा बोल्न भनेर चिठी नै पठाइयो।’  

सत्तारुढ दलकी सांसद खिनुलङ्वा लिम्बुले सरकारले पेश गरेको नीति तथा कार्यक्रम गोलमोल र अष्पष्ट भएको बताइन्। गत वर्ष र यो वर्षको नीति तथा कार्यक्रम दाँज्दै उनले गत वर्ष कार्यान्वयन हुन नसकेका कार्यक्रम फेरि निति तथा कार्यक्रममा समावेश गरेको बताइन्। ‘कार्यान्वयनमा ल्याउन नसकेका कार्यक्रम आगामी वर्षको नीति तथा कार्यक्रममा दोहोर्याएर ल्याइएका छन्’ उनले भनिन्। पहिले किन कार्यान्वयन भएनन् र अब, कसरी कार्यान्वयन हुन्छन् भन्ने आधार उल्लेख नगरी हचुवाकै भरमा नीति तथा कार्यक्रम आएको उनको टिप्पणी छ। उनले ठोस योजनासहित नभई सामान्य समन्वय गर्ने किसिमको मात्रै नीति कार्यक्रम सरकारले ल्याएको बताइन्।

लिम्बुले गाउँपालिकाको वडा कार्यालय र गैरसरकारी संस्थाले गर्ने खालका कार्यक्रम प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको बताइन्। कार्यान्वयन गर्न नसक्ने तर, प्रत्येक वर्ष कार्यक्रम दोहोर्याएर ल्याउनु राम्रो नभएको लिम्बुको धारणा छ ।  

सत्तारुढ सांसद सर्वध्वज साँवाले विषम परिस्थितिमा सरकारले ल्याएको नीति तथा कार्यक्रम ठिकै रहेको बताए। साँवाले नीति तथा कार्यक्रमले यथार्थबाहेक सपना पनि देखेको टिप्पणी गरे। उनले नीति तथा कार्यक्रमको बारेमा सांसदहरूले आकाशमा उड्ने, चिलले, परेवाले, कोकालेले भुईमा फरक–फरक चारो  देखेजस्तो आ–आफ्नो दृष्टिकोण राखेको बताए।

कतिपय सांसदले खिचडी भनेर पनि टिप्पणी गरेको भन्दै उनले कोरोनामा खिचडी नै भएपनि खान पाउनु राम्रै भएको बताए। ‘कतिपय माननीयज्यूहरूले खिचडी भन्नुभयो’ उनले भने ‘केहि त पाकेकै रहेछ नि। कोरोनाकालमा खिचडी नै भएपनि खान पाउनु राम्रै हो।’

शनिबार बसेको प्रदेशसभा बजेट अधिवेशनको बैठकमा नेकपा एमाले पक्षका सांसदहरु अम्बिका थापा, आशारत्न जबेगु, उत्तमकुमार बस्नेतलगायले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको सर्मथन गरेका थिए।

प्रकाशित: २९ जेष्ठ २०७८ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App