६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजेन्द्र महतोको अभिव्यक्ति अक्षम्य : डा कोइराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति क्षमायोग्य नरहेको बताएका छन्। आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई देशकै रुपमा स्वीकार नगर्नेगरी अभिव्यक्ति दिनु क्षमा गर्न योग्य  नरहेको बताएका हुन्।  

कोइरालाले राजेन्द्र्र महतोले नेपाललाई देशकै रुपमा नस्वीकारेको आरोप लगाए । ‘देशको उपप्रधानमन्त्री भइसकेपछि देशको संविधानलाई नस्वीकारेको मात्रै हैन नेपाल देश हो भन्नेसमेत नस्वीकारेर अभिव्यक्ति दिनु अक्षम्य छ’ कोइरालाले भने।

नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक देश हो भन्दै उनले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्वीकार गर्नै नसकिने स्पष्ट पारे ।

‘संविधान बन्ने क्रममा उग्र प्रतिरक्षा गर्ने केपी ओली र उग्र रुपले संविधानको विरोध गर्ने राजपा के बाध्यताले अहिले एकै ठाउँमा आइपुगेका छन्। यो विचार गर्नुपर्ने विषय छ।’ कोइरालाले भने, ‘हिजो विरोध गरेको संविधान मानेर उपप्रधानमन्त्रीको शपथ लिएका महतोले बहुलराष्ट्रिय राज्यको कुरा उठाउनुले देशलाई नै सोच्न बाध्य बनाएको छ।’

कोइरालाले बहुभाषिक, बहुजातीय, बहुधार्मिक, सांस्कृतिक देशको सम्वद्र्धन र संरक्षण गर्ने जिम्मेवारी सबै राजनीतिक दलको भएको  भन्दै बहुलराष्ट्रिय राज्य भन्ने कुरा कुनै ढंगबाट स्वीकार गर्न सकिने विषय नभएको स्पष्ट पारे।  

निर्वाचन घोषणा भइसकेको र निर्वाचन आचारसंहिंता लागू भइसकेको अवस्थामा सरकार हेरफेर गर्नु संविधान विपरित रहेको कोइरालाले बताए। उनले प्रधानमन्त्री ओलीले चुनाव गराउन नसक्ने ठोकुवा गर्दै अदालतबाट संसद पुनःस्थापना हुने र नयाँ बन्ने सरकारले  निर्वाचन गराउने बताए। ‘ओली सरकारले निर्वाचन गराउन सक्दैन’ उनले भने ‘अदालतबाट संसद पुनःस्थापना भएपछि बन्ने नयाँ सरकारले निर्वाचन गराउँछ।’  अदालतले संसद पुनःस्थापना गरेपनि यहि अवस्थामा संसद चल्न नसक्ने भएकाले अबको बाटो निर्वाचन नै भएको स्पष्ट पारे।

प्रकाशित: २३ जेष्ठ २०७८ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App