१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारकै कारण संक्रमण तीव्रः देउवा

नेपाली काँग्रेसले नेपालमा नयाँ भेरियन्टसहित कोभिड-१९ को संक्रमण तीव्र हुनुमा ओली सरकार जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

सामयिक विषयमा नेपाली काँग्रेसले गरेको पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण र लकडाउनको जिम्मेवारी ओली सरकारले नै लिनुपर्ने बताए। ‘देशको अधुरा कामलाई पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ।’ सभापति देउवाले भने, ‘बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ। यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता जिम्मेवार छ। यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ न नेपाली काँग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ।’  

काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा १५ दिने लकडाउन लगाउने निर्णय गरेपछि कोभिड-१९ परीक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरुमा पुगेकाले संक्रमण कम भएका ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको जनाउँदै काँग्रेसले सरकारसँग ११ वुंदे माग सम्बाधन गर्न आग्रह गरेको छ।

पत्रकार सम्मेलनमार्फत् काँग्रेसले कोभिड–१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति गर्न, संक्रमितहरुलाई आवश्यक अस्पताल बेड, आइसियु वेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधि र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल व्यवस्था गर्न तथा देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाउन समेत माग गरेको छ।

त्यस्तै सिमा नाकाहरुमा अनिवार्य पिसिआर परीक्षण र परीक्षणको नतिजा नआउन्जेल होल्डीङ केन्द्रहरुमा राख्न, परीक्षणमा संक्रमित देखिएकाहरुलाई स्थानीय निकायहरुको समन्वयमा आइसोलेसन केन्द्रहरुको व्यवस्था गर्न, स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीहरुको बीमा गर्न र जोखिम भत्ता तत्काल दिन पनि माग गरेको छ।

काँग्रेसले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैर जिम्मेवारीपूर्ण रवैयाको भत्सर्ना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न, खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्नका लागि प्रभावकारी कुटनैतिक पहल गर्न, लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवत—जावतलाई सहज बनाउन, विदेशमा जानेहरुलाई आवश्यक पिसिआर परीक्षण गर्ने अस्पतालहरुको संख्या बढाउन, लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन पनि माग गरेको छ।

प्रकाशित: १७ वैशाख २०७८ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App