७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

'बहुमतले मुख्यमन्त्री बनाएको हो, अब बहुमतले नै हटाउँछ'

गण्डकीमा विशेष अधिवेशन मागको तयारी

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी सहितका चारवटा दलको गठबन्धनमा अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको चालु अधिवेशन मध्यरातमा अन्त्य गरेका छन् । तर, दलहरुले भने विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।  

कांग्रेसका प्रदेशसभा सदस्य कुमार खड्काले चालु अधिवेशन अत्य गरिएपछि अब विशेष अधिवेशन बोलाउन माग गर्ने बताए । ‘मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव सचिवालयमा दर्ता गर्न मिल्छ । ससंद चल्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘प्रदेश प्रमुखलाई विशेष अधिवेशन आव्हान गर्न अनुरोध गर्छाै । प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाउनैपर्छ ।’  

कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धनमा विहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको थियो । ‘मुख्यमन्त्री गुरुङ अल्पमतमा पर्ने भएकोले गैरकानुनी सरकार चलाउन मध्यरातमै चालु अधिवेशन अन्त्य गर्न लगाएका छन,’ खड्काले भने, ‘गुरुङ १०–१५ दिनसम्म पनि पर्खिन सकेनन ।’ उनले अविश्वासको प्रस्ताव फेस गर्नुपर्नेमा त्यो प्रक्रिया नै नमानेर सधैंभरी आफु नै मुख्यमन्त्री हुनुपर्छ भन्ने मान्यता राखेको बताए ।  

माओवादीका प्रदेशसभा सदस्य दीपक कोइराला चालु अधिवेशन अत्न्य भएपनि अविश्वासको प्रस्ताव दर्ता गर्ने र विशेष अधिवेशन बोलाउने बताउँछन् । ‘बहुमतले बनाएको मुख्यमन्त्री हो, अब बहुमतले नै हटाउने नै हो,’ कोइरालाले भने, ‘कति दिन रोक्ने सकिन्छ र ? अहिले दर्ता भएको अविश्वासको प्रस्ताव एकहप्ता पछि बल्ल प्रक्रियामा जाने हो ।’ सधैं अधिवेशनबाट भागेर जान नसकिने उनले बताए ।  

संसदमा बहुमत पु¥याउन सके गुरुङ नै मुख्यमन्त्री रहिरहने भएपनि भाग्नु गलत भएको उनले बताए । ‘विशेष अधिवेशनका लागि हामीले पनि छलफल अघि बढाएका छौ । केहीदिन मात्र ढिला हुने हो, नत्र कसैले रोकेर अब रोकिने अवस्था छैन,’ उनले भने, ‘१० दिनको साटो १५ दिन मात्र लाग्ने हो ।’

प्रकाशित: २ वैशाख २०७८ ०६:२६ बिहीबार

गण्डकी प्रदेश