९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

भाजपा नेपाल र श्रीलंकामा सरकार बनाउने योजनामा रहेको दाबी

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष एवं गृहमन्त्री अमित शाहले भाजपाले नेपाल र श्रीलंकामा सरकार बनाउने योजना सुनाएको बताएका छन्।  

शनिबार त्रिपुरामा आयोजित पार्टीको बैठकमा अमित शाहले उक्त विषय सुनाएको मुख्य मन्त्री देवले बताएका हुन्। उनले नेपाल र श्रीलंकामा भाजपाको सरकार स्थापना गर्ने योजनाबारे बताए पनि भाजपाका पूर्वअध्यक्षसमेत रहेका शाहले पार्टी बैठकमा बोलेको कुराले भाजपा नेपाल र श्रीलंकामा आफू अनुकूल सरकार बनाउन चाहेको देखिन्छ। मुख्यमन्त्री देवले भनेजस्तो नेपाल र श्रीलंका आफंैमा स्वतन्त्र र सार्वभौम मुलुक भएकाले भाजपाको सरकार बनाउने भन्ने उनको कुराले भने दुई स्वतन्त्र मुलुकलाई पनि भारतकै प्रान्तका रूपमा बुझेको देखिन्छ।  

उनले भनेका छन्, ‘हामीले राज्यको अतिथि घरमा कुरा गरिरहेका थियौँ। जब भाजपाका उत्तर पश्चिम क्षेत्रका सचिव अजय जमवालले भाजपाले भारतका कैयौँ राज्यमा सरकार बनाइरहेको बताए। जवाफमा साहले भने, ‘अहिले श्रीलंका र नेपालले हामीलाई छाडेका छन्। हामीले त्यहाँ पनि पार्टी विस्तार गरेर सरकार बनाउनुपर्छ,’ देवको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन्। 

मुख्यमन्त्री देवले अमित शाहको नेतृत्वमा कम्युनिस्टहरूको रेकर्डलाई भंग गर्दै भाजपालाई विश्वकै सबैभन्दा ठूलो पार्टी बनाउँदै विश्वस्तरीय पार्टी बनाएको दाबी गरेका छन्। विपक्षीले भने मुख्यमन्त्रीको अभिव्यक्तिलाई भाजपाको केन्द्रीय नेतृत्वले स्पष्ट पार्नुपर्ने बताएका छन्। उनीहरूले मुख्यमन्त्रीसँग संविधान र प्रजातन्त्रका बारेमा कुनै बुझाइ नै नरहेको बताउँदै मुख्यमन्त्री देवले उदृढ गरेको अमित शाहको अभिव्यक्तिले अन्य मुलुकको आन्तरिक मामिलामा हस्ताक्षेप गरेको बताएका छन्।

विपक्षी नेताहरूले भारतीय गृहमन्त्री शाह नेपाल विरुद्ध राज्य सडयन्त्रमा लागेको र यसको प्रमाण संवैधानिक पद धारण गरेको व्यक्तिले दिएको बताएका छन्। नेपालमा पछिल्लो राजनीतिक घटनाक्रममा भारतको भूमिका रहेको आरोप लागिरहेका बेला भारतका गृहमन्त्री तथा भाजपाका शीर्ष नेताले पार्टी बैठकमै नेपालमा आफ्नो प्रभाव विस्तारका बारेमा बोलेको कुरा सार्वजनिक हुनेले त्यो आरोपमाथि थप बल पुगेको छ।

प्रकाशित: ४ फाल्गुन २०७७ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App