४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिपक्षी दलका नेताको प्रतिक्रिया : प्राथमिकता गुमाएको नीति तथा कार्यक्रम

प्रमुख प्रतिपक्षी दलका नेताहरुले ‘प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रम’ले मुलुकलाई संकटबाट बाहिर निकाल्ने नसक्ने प्रतिक्रिया दिएका छन्।  नीति तथा कार्यक्रम सार्वजनि पछि प्रतिक्रिया दिँदै नेताहरुले वर्तमान आवश्यकताको प्रथामिकता सरकारले सम्बोधन गर्न नसकेको प्रतिक्रिया नेताहरुले दिएका हुन्। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले प्राथमिकता गुमाएर ल्याएको नीति र कार्यक्रमले मुलुकलाई संकटबाट बाहिर निकाल्न नसक्ने बताए। उनले भने, ‘‘सरकारले प्राथमिकता गुमाएको र प्राथमिकता गुमाएर बनेको कार्यक्रम, नीतिले यो संकटबाट मुलुकलाई बहिर निकाल्न सक्दैन्। त्यसैले ६३ पानाको नीति कार्यक्रम विर्सेर प्राथमिकता तर्फ ध्यान दिन आग्रह गर्दछु। कोरोना महामारीबाट आउने अवशर र चुनौतीको सामना गर्ने कुराका लागि अगाडि बढ्न आग्रह गर्दछु।’’

रिजालले सीमा अतिक्रमणको विषयमा सरकारले भरोसा गर्न सकिने कुरा नभनेको बताए। अन्तिम समयमा आएर अलिकति बोलेपनि सरकारले गम्भिरता नदेखाएको आरोप उनले लगाए। सरकारले काम गरेर प्रमाणि गरे आफुहरुको साथ सधै रहने उनले बताए।  

कांग्रेसका अर्का नेता शशांक कोइरालाले कोरोना महामारीको अवस्थालाई ध्यान दिनुपर्ने भएपनि ध्यान अन्यतिर गएको बताए। सरकारले कोरोना महामारी नियन्त्रणलाई जति ध्यान दिनुपर्ने हो त्यतातिर ध्यान नगएको उनले बताए। उनले भने, ‘सरकारले प्राथमिकता नदिएको होइन तर जति महत्वका साथ दिनुपर्ने थियो त्यती दिएको छैन्।’

अर्का नेता प्रदीप गिरीले विश्व नै कोरोना संकटसँग जुधिरहेका बेला सरकारले पुरानै कुराहरुलाई दोहोर्या्एको बताए। कोरोनाको सामना गर्न नेपालसँग पर्याप्त तयारी र स्रोत साधन नभएको उल्लेख गर्दै उनले भने, ‘नीति तथा कार्यक्रममा पुरानै कुरा भनियो। जनतालाई कुनै पनि आत्मविश्वास, आशा र भरोसा नदिने र आन्तरिक रुपमा पुरानै योजना पुरा गरिने छ पुरा गरिने छ भन्ने मन्त्र मात्रै जप गर्नु साह्रै हास्यास्पद हो।’

कांग्रेसका युवा नेता प्रदीप पौडेलले नीति तथा कार्यक्रम बिगत जस्तै कागजमा मात्र सीमित हुने गरी आएको बताए। 'नीतिगत सुधार र प्रक्रियागत सुधारका लागि अझै मजबुत योजना ल्याउँन सक्नु पर्थ्यो। बिगतमा जस्तो “कुरा ठूला खुट्टा लुला” पारेर सपनाको व्यापार गर्ने प्रवृत्ति दोहोरियो।थोरै बिषयहरू मात्रै समेटेर प्राथमिकता निर्धारण गर्नसक्नु पर्थ्यो। कोबिड पछिको नेपाल पुरानै शैली र बिषयहरूले चल्न सक्दैन यो महत्वकांक्षा साच्चिकै पुरा गर्नेगरि बजेट बन्न सक्दैन।सरकारले यो असाधारण अबस्था बुझेको देखिएन‬', उनले भने।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले आर्थिक चुनौतीको सामना गर्नुपर्ने बेला ठोस नीति तथा कार्यक्रम नआएको बताए। भ्रष्टाचार निर्मुल गर्ने र नियन्त्रण गर्ने सरकारको प्रगतिवद्धता कमजोर देखिएको उनले बताए। उनले भने, ‘कोभिड पछि ठूलो संख्यामा बेरोजगारी समस्या उत्पन्न हुन्छ। वैदेशिक रोजगारीबाट लाखौ युवाहरु फर्किदैछन्। रोजगार प्रवद्र्धन गर्ने ठोस कार्यक्रम देखिएन्। आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने कुनै कार्यक्रम छैनन्। आशा जोगाउन सक्ने नीति तथा कार्यक्रम भएन्।’

 

प्रकाशित: २ जेष्ठ २०७७ १५:२४ शुक्रबार

संसद नीति तथा कार्यक्रम