२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

४२ प्रकारका उद्योग चलाउन छुट

काठमाडौं - कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले जेठ ५ गतेसम्म लकडाउन  बढाएको छ। थप संक्रमण हुन नदिन लकडाउन बढाइएको हो। 

मन्त्रिपरिषद्को बुधबारको बैठकले जेठ ५ सम्म लकडाउनलाई निरन्तरता दिने र थप कडाइ गर्ने निर्णय गरेको हो। बैठकले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाका बन्द गर्ने निर्णय पनि गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले संक्रमण दर बढ्दै गएकाले लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको थियो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति बैठकले कोरोना नियन्त्रणमा भएका सबै प्रयासलाई निरन्तरता दिँदै संक्रमण शून्यमा झार्ने निर्णय गरेको थियो। 

सुरुमा चैत ११ देखि १८ गतेसम्म घोषित लकडाउन दोस्रोपटक एक साता थपेर २५ सम्म लम्ब्याइएको थियो। त्यसपछि पटकपटक गरी वैशाख ३, वैशाख १५ र २५ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको थियो। 

मन्त्रिपरिषद्ले राष्ट्रिय गौरवका आयोजनासँगै सिँञ्चाइ, जलविद्युत्, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काममा भने अब रोक नलगाउने निर्णय गरेको छ। तर त्यस्तो काम गर्दा एक स्थानमा १० जना बढी कामदार जम्मा हुन पाइने छैन र कामदारको स्वास्थ्य दिनहुँ जाँच गर्नुपर्नेछ। सहरी पूर्वाधार शीर्षकका आयोजनाका कामलाई पनि अघि बढाउने निर्णय भएको छ। 
सरकारको निर्णय अनुसार बैंक तथा वित्तिय संस्था, सहकारीलगायतले बढीमा एकतिहाई कर्मचारीबाट सेवा सञ्चालन गर्न सक्नेछन्। त्यस्तै अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय र संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालोमा सेवा दिनेछन्।

ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्रीको उत्पादन, संकलन र ढुवानी गर्न दिने निर्णय गर्दै सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति पाएका पुस्तक पसल खोल्न दिने भएको छ। ढुवानी साधनका चालक तथा सहचालकलाई खानाको प्याकेट मात्र बिक्री गर्ने गरी राजमार्गमा ५० किलोमिटरको दूरीमा होटल खोल्न दिने तर त्यसको व्यवस्थापन स्थानीय सरकारले मिलाउने निर्णय भएको छ। 

बैठकको निर्णय अनुसार खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने विभिन्न ४२ उद्योग भने २६ गतेदेखि सञ्चालनमा आउने भएका छन्। दुध तथा दुग्ध पदार्थ उत्पादन उद्योग, औषधि, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योग, खाने पानी उत्पादन गर्ने उद्योग, इँटा उद्योग, पशुपंक्षी तथा माछा दाना र आहारा उत्पादन गर्ने उद्योग, खाने तेल तथा घ्यू उद्योग, चिनी उद्योग, चिया प्रशोधन उद्योग, एलपिजी ग्याँस उद्योग, प्याकेजिङ सामग्री उत्पादन उद्योग, कफी उद्योग, पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग, नुडल्स तथा तयारी चाउचाउ उद्योग, मसला उद्योग, अलैंची र अदुवा प्रशोधन उद्योग कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग, धान चामल र चिउरा उद्योग, दाल उद्योग, पशु औषधि र कीटनासक औषधिसम्बन्धी उद्योग, खानी तथा खनिजजन्य उद्योग, बालुवा प्रशोधन तथा क्रसर उद्योग, सिमेन्ट उद्योग, आइरन तथा स्टिल उद्योग, रङरोगन उद्योग अब सञ्चालनमा आउनेछन्। त्यस्तै जिआई, प्लास्टिक पाइप र फिटिंग्स उद्योग, बिजुलीका केबल तथा विद्युत् सामग्री उत्पादन उद्योग, जुुस तथा हल्का पेय पदार्थ उद्योग, प्लाइउड र भेनिर उद्योग, जस्ता पाता उद्योग, हेभी मेसिनरी औजार मर्मत उद्योग समिल र काष्ठ उद्योग, आल्मुनियम उद्योग, ग्रील उद्योग, फोहोर  संकलन तथा प्रशोधन उद्योग, ढुवानी तथा कार्गो सेवा उद्योग, मेसिन पार्टपुर्जा वर्कसप उद्योग, मोटर ग्यारेज वर्कसप उद्योग, छापाखाना तथा प्रेससम्बन्धी उद्योग, लघु तथा घरेलु उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग पनि अब सञ्चालनमा  आउनेछन्।

शैक्षिक संस्था, तालिम तथा प्रशिक्षक केन्द्र, गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल, धार्मिक स्थलमा भेला, रंगशाला, फुटसल, जिमखाना, सैलुन, होटल बार सञ्चालनमा भने रोक लगाइएको छ। मन्त्रिपरिषद्ले बुद्धजयन्तीका अवसरमा बिहीबार साँझ ७ बजे देशभर दीप प्रज्वलन गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित: २५ वैशाख २०७७ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App