१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘महिलालाई सशक्त बनाउन आवश्यक’

रौतहट – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महिलालाई हरेक क्षेत्रमा सशक्त बनाउन आवश्यक भएको बताएका छन्। गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा राजदेवी मिडिया सेन्टरद्वारा आयोजित आठौं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिताको उद्घाटन गर्दै उनले देशको हरेक तहमा महिलाको समान पहुँच र समान प्रतिनिधित्व हुनसक्यो भने देश विकासमा अझ सकारात्मक योगदान पुग्ने बताएका छन्।

महिलाप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन आइरहेको तर अझ पनि धेरै क्षेत्रमा महिला पछाडि रहेको उल्लेख गर्दै नेता नेपालले महिलालाई आत्मसम्मान, स्वाभिमान तथा निर्भय अवस्थामा निर्णय लिनुपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए। संघीय गणतान्त्रिक व्यवस्थामा महिलालाई सबल र आत्मनिर्भर बनाउने खालको अधिकार सम्पन्न बनाएको प्रष्ट पार्दै संघीय सांसद, प्रदेश सांसद, नगरपालिकाको प्रमुख उप्रमुख, वडाध्यक्ष र सदस्यसम्म पुग्न सफल भएको र अबको खुड्किला प्रदेशको मुख्यमन्त्री बन्न मात्र बाँकी रहेको उनले चर्चा गरे। राष्ट्रपतिदेखि लिएर वडा सदस्यसम्म महिलाको पहुँच हुनु अहिलेको शासन व्यवस्थाकै परिणाम भएको नेता नेपालको भनाइ छ।

आफू २०५१ सालमा रक्षामन्त्री हुँदा नेपाली सेनामा महिलाहरुको सहभागिता गराउन कार्ययोजना लागु गरेपछि महिलाहरु पनि नेपाली सेनामा प्रवेश गर्न पहिलो मौका पाएको स्मरण गर्दै नेता नेपालले परिवर्तित परिवेशमा छोरीलाई कम्तीमा स्नातकसम्म पढाउनुपर्ने विचार पनि व्यक्त गरेका छन्। नेकपाको वर्तमान सरकारको अवधारणा पनि समृद्ध मुलुक र सुखी नेपाली बनाउने मूल मन्त्रका साथ अघि बढिरहेको परिवेशमा भ्रष्टाचारमा लिप्त नभई मुुुलुकको समग्र विकासमा योग्यदान गरेमा यहाँबाट गरिवी, अशिक्षा, वेरोजगारी लगायतका कुप्रथाहरु अन्त्य भई सभ्य एवं विकसित मुलुक बन्ने छ नेता नेपालले स्पष्ट पारेका छन्।

आफू रौतहट आउदा अधिकांश विरोधीको जिउ र मुखबाट पसिना निस्कने गरेको टिप्पणी गर्दै २०४७ र २०७२ को संविधान निर्माण गरेकोमा गर्व महसुस गर्दै नेता नेपालले केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्नु वुद्धिमानी रहेको पनि बताएका छन्। अबका दिनमा धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्दै नेता नेपालले भ्रष्टाचारमुक्त, महिला शसक्तिकरणयुक्त, समावेशी, सर्वहारा वर्ग, महिला, आदिबासी जनजातीहरुको उत्था जस्ता महान अभियानलाई सहभागी हुन सबैलाई आगह पनि गरे।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App