१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रहरीमाथि विप्लव समूहको आक्रमण

फाइल फोटो
सुर्खेत– पश्चिम सुर्खेतको पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले प्रहरीमाथि आक्रमण गरेको छ।
विप्लवका जिल्ला नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो विप्लव समूहले तीन राउण्ड फायर गरेको थियो। सो क्रममा प्रहरीले पनि दुई राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए।
 
विप्लव समूहका जिल्ला स्तरीय नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो। ‘घर नपुग्नै जंगलमा विप्लवका कार्यकर्ताले प्रहरी टोलीमाथि आक्रमण गरे,’ एसपी पन्तले भने, ‘हाम्रोतर्फबाट पनि दुई राउण्ड जवाफी फायरिङ गर्नुपर्‍यो।’ प्रहरीका अनुसार शाहीसँगै आठदेखि १० जना विप्लवका कार्यकर्ता थिए।
 
शाही घरमा आएको सुराकीका आधारमा रिभल्वरसहित इलाका प्रहरी कार्यालय बाबियाचौरबाट दुई जना प्रहरीहरु सादा पोषाकमा खवर संकलनका लागि गएका थिए। ‘प्रहरीलाई देख्ने वित्तिकै विप्लव समूहले आक्रमण गर्‍यो, हामीतर्फ दुई जना मात्रै प्रहरी भएकाले उनीहरुलाई पक्राउ गर्न सकेनौं,’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खत्रीले भने, ‘अहिले जंगल क्षेत्रमा सर्च अभियान चलाइरहेका छौं ।’ उनले प्रहरीतर्फ कोही घाइते नभएको बताए।
 
विप्लव समूहले मंगलबार राति सुर्खेतका विभिन्न स्थानमा रहेका एनसेल टावरमा बम राखेको थियो। भेरीगंगा नगरपालिकाको एनसेल टावरमा विप्लव समूहले आगजनी गरेको छ भने वीरेन्द्रनगर–११ पिपिरामा रहेको एनसेल टावरमुनि राखिएको बम नेपाली सेनाको बम डिस्पोज टोलीले निष्क्रिय पारेको थियो। दैलेखमा गाउँपालिकाका अध्यक्षलाई अपहरण गरेको दुई साता वित्न नपाउँदै विप्लव समूहले प्रहरीमाथि आक्रमण गरेको हो।

प्रकाशित: १६ पुस २०७६ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App