१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

सन्की स्वभावले अपजस

काठमाडौं – अघिल्लोपटक मन्त्री हुँदा स्थानीय विकास अधिकारीलाई चर्पीमा थुनेर चर्चामा आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको दोस्रो कार्यकाल अपजसकै बीच सकियो। यादवमा उद्योग, वाणिज्य क्षेत्रको विषयगत ज्ञान कम र हठी स्वभावका कारण उनी लोकप्रिय हुन सकेनन्।

मातृकाको कार्यक्षेत्रमा प्रधानमन्त्री केपी ओलीसँग समेत टसल परेपछि असन्तुष्टि व्यक्त गर्दै आएका थिए। यादवले व्यापारी तथा उद्योगीसँग समदूरी कायम गर्न नसक्दा उनी विरुद्धको उजुरी सीधै प्रधामन्त्रीसमक्ष पुग्थ्यो। यादवले आफूलाई चित्त नबुझेको विषयमा मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सवालजवाफ गर्ने गरेकाले ‘हिट लिस्ट’मा परे।

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्र झापाको दमकमा चीनको सहयोगमा बन्ने औद्योगिक पार्कको विषयमा पनि केही असहमति राखेका थिए। मन्त्री यादवले प्रधानमन्त्रीसँग आफ्नो कार्यशैली नमिलेको सार्वजनिक कार्यक्रममा नै टिप्पणी गर्दै आएका थिए। विभिन्न विषयमा प्रधानमन्त्रीले जसरी पनि प्रस्ताव ल्याउन भनेपछि असन्तुष्टि जनाउँदै आएका थिए। बन्द रहेका उद्योग सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगे पनि यादवले पारित गराउन सकेनन्। यादव आफ्नो योजनाअनुसार काम गर्न नपाएपछि आफूलाई हटाउन सक्ने संकेत गरेका थिए।

उद्योगमन्त्रीले सधैं सार्वजनिक कार्यक्रमा आफूले गडबड नगर्ने र गडबड गर्नेलाई कारबाही गर्ने चेतावनी दिइरहे। ‘अन्डर टेबुल कारोबार गर्न तयार तर आफूअनुकूल काम गराउन पल्किएका उद्योगीका यादवको व्यवहार मेल खाएन। कर्मचारीसँग रुखो व्यवहार प्रस्तुत गरेका कारण कर्मचारीबाट अपेक्षित सहयोग पनि पाएनन्। मन्त्रीको देखेको कुरा बोल्ने र सन्की स्वभावका कारण निजी क्षेत्रको पनि तारामा परे।

यादवको कार्यकालमा लगानीमैत्री वातावरण तयार गर्न धेरै ऐनकानुन बनेका छन्। यसलाई निजी क्षेत्रले पनि प्रशंसा ग¥यो। निजी क्षेत्रले चाहेको बेला समय नदिने हठी स्वभावका कारण अलोचना भने खेपिरहे। २१ महिना मन्त्रालय सम्हालेका यादव कामभन्दा पनि उनको स्वभावका कारण लोकप्रिय हुन सकेनन्।

यादवको नेतृत्वमा विदेशी लगानी ल्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसाय ऐन, उपभोक्ता हित संरक्षण नियमावलीलगायत एक दर्जनभन्दा बढी ऐन, कार्याविधि, निर्देशिका तयार गरेका थिए। औद्योगिक वातावरण तयार गर्न क्रियाशील रहे। स्थानीय तहमा उद्योग ग्राम घोषणामा सघाए। भारत, चीनलगायत देशसँगको व्यापार सहजीकरण गरे। यादवकै कार्यकालमा दैलेखमा पेट्रोलियम अन्वेषण सुरु भएको छ, नवलपरासीमा फलामखानी उद्योग सञ्चालन गर्ने तयारी छ।

यादवकै नेतृत्वमा निजी क्षेत्रले वर्षौदेखि उठाउँदै आएको एकल बिन्दु सेवा केन्द्र सुरु भएको छ। उनको कार्यकालमा भारतबाट इन्धन आयात गर्न पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भयो। सुक्खा बन्दरगाह निर्माण अघि बढाए। मन्त्री यादवको कार्यकालमा विदेशी लगानी सम्मेलन सम्पन्न भयो। लगानी सम्मेलनले अन्तर्राष्ट्रिय समुदायमा नेपालमा लगानी मैत्री वातावरण बनेको सन्देश गयो। ‘विषय बुझाएपछि उहाँ तुरुन्त कन्भिन्स हुनुहुन्थ्यो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँका सकारात्मक कामभन्दा स्वभावका कारण अपजस पाउनुभयो।’ मन्त्रीको पद बाहल गरेपछि बजार अनुगमनबाट चर्चामा आए पनि उक्त कार्यलाई निरन्तरता दिन सकेनन्।

प्रकाशित: ६ मंसिर २०७६ ०२:५० शुक्रबार

स्थानीय_विकास_अधिकारी सन्की स्वभाव अपजस