६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सातवटा वडामा उपनिर्वाचन

धनगढी – सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका स्थानीय तहका सातवटा वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ। प्रदेशका पाँच जिल्लाका सातजना वडाध्यक्षको मृत्यु भएपछि सो ठाउँमा उपनिर्वाचन हुन लागेको हो। बैतडीमा तीन, अछाम, डोटी, कञ्चनपुर र बाजुरामा एक/एक वडामा उपनिर्वाचन हुने भएको हो। ‘ती वडाका वडाध्यक्षको पद रिक्त रहेकाले उपनिर्वाचन हुने भएको हो,’ जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी प्रेमराज भट्टले भने, ‘निर्वाचनको तयारी सबै जिल्लामा भइरहेको छ।’

बैतडीको पुर्चौडी नगरपालिका–४ सुर्नया गाउँपालिका–१ र दोगडा केदार गाउँपालिका–४, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ अछामको मेल्लेख गाउँपालिका–५, बाजुराको त्रिवेणी नगरपालिका–१ र डोटीको आदर्श गाउँपालिका–२ मा उपनिर्वाचन हुने भएको हो। पुर्चौडी–४ का अध्यक्ष गौतमप्रसाद भट्ट, सुर्नया–१ का अध्यक्ष कलशबहादुर चन्द र दोगडा केदार–४ का अध्यक्ष मानबहादुर विष्टको मृत्यु भएको थियो। त्यस्तै आदर्श–२ का अध्यक्ष पदमसिंह बोहराको जिप दुर्घटनामा मृत्यु भएको थियो भन मेल्लेख–५ का अध्यक्ष रामबहादुर बोहरा र त्रिवेणी–१ का अध्यक्ष खम्म दमाईको पनि मृत्यु भएकाले उपनिर्वाचन हुने भएको हो।

त्यस्तै पुनर्वास–३ का वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएकाले उपनिर्वाचन हुने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले बताएको छ। निर्वाचन अधिकारी भट्टका अनुसार मंसिर १४ गतेका दिन सुदूरपश्चिम प्रदेशका १० हजार ९ सय ३७ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन्। ‘राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता लागू भएको छ,’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाका लागि जिल्लाभरि र स्थानीय तहका लागि सम्बन्धित स्थानीय तहमा मात्रै निर्वाचन आचारसंहिता लागू हुनेछ।’

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा कात्तिक २७ गते उम्मेदवारी मनेनयन हुनेछ भने मंसिर १ गते निर्वाचन चिह्न पाउनेछन्। मंसिर १४ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचन कार्यतालिका रहेको छ।
उपनिर्वाचन हुने आदर्श–२ मा दुई हजार ४ सय ५९, त्रिवेणी–१ मा एक हजार ३९, मेल्लेख–५ मा एक हजार नौ सय चार, पुनर्वास–३ मा एक हजार एक सय ९९, सुर्नया–१ मा ६ सय १९, पुर्चौडी–४ मा एक हजार नौ सय नौ र दोगडा केदार–४ मा एक हजार आठ सय आठ मतदाता छन्। पुर्चौडी–४ मा एमालेका तर्फबाट गौतमप्रसाद भट्ट, सुर्नया–१ मा कांग्रेसबाट कलशबहादुर चन्द र दोगडा केदार–४ मा एमालेबाट मानबहादुर विष्ट निर्वाचित भएका थिए। त्यस्तै आदर्श–२ मा एमालेका तर्फबाट पदमसिंह बोहरा, मेल्लेख–५ मा कांग्रेसबाट रामबहादुर बोहरा र त्रिवेणी–१ मा कांग्रेसबाट उम्मेदवारी पाएका खम्म दमाई निर्वाचित भएका थिए।

त्यस्तै पुनर्वास–३ का वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएकाले उपनिर्वाचन हुने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले बताएका छन्। तामाङ एमालेबाट निर्वाचित हुन्। उपनिर्वाचन हुने भएपछि सम्बन्धित जिल्लाका स्थानीय तहमा उम्मेदवार को हुने र कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चा सुरु भएको छ। वडाका इच्छुक नेताहरू टिकटका लागि आफ्ना नेतासँग लबिङमा सक्रिय छन्। त्यस्तै उपनिर्वाचन आफ्नो पक्षमा पार्न यहाँ राजनीतिक दलका जिल्ला तथा केन्द्रीय स्तरका नेताहरु जिल्ला केन्द्रीत बन्न थालेपछि चहलपहल बढेको छ। ‘वडामा उपनिर्वाचन हुने भएपछि चोक चौतारामा चुनावी चर्चा बढ्न थालेको छ,’ डोटीका स्थानीय विजय ओझाले भने, ‘उपनिर्वाचन नजिकिँदै गर्दा वडामा टिकटका लागि लबिङ पनि हुन थालेको छ।’

प्रकाशित: १४ कार्तिक २०७६ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App