१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आफ्नैसँग बढी गुनासो, अभियानमा सत्तापक्ष पनि सकारात्मक

पूर्वी रोल्पाको मिझिङमा जनजागरण अभियानमा कांग्रेसीहरु।

रोल्पा - नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियानले रोल्पामा पनि तीब्रता लिएको छ। रोल्पाका गाउँबस्ती र चौतारीहरुमा जागरण अभियानबारे चर्चा हुन थालेको छ। कांग्रेसको चारतारे झण्डा बोकेका उनीहरु घरका आगनमा बसेर छलफल गर्छन। १० वर्षे द्वन्दका समयमा गाउँबाट विस्थापीतहरु र गाउँमै सबै सहेर बसेका कांग्रेसीहरु जागरण अभियानले नयाँ रक्तसंचार भएको बताउँछन। सत्तामा रहदा जनहितमा काम नगरेको आरोप खेपेका अनि दुख पाएकाहरु अहिलेको तीनै तहका सरकारका गतिविधिका बारेमा बहस गर्न थालेका छन्।

जागरण अभियनमा गाउँ पुगेकाहरु आफ्नै दलका स्थानीय नेता, कर्यकर्ताले समन्वय गर्न नसकेको गुनासो गर्छन्। ‘धेरै जसो गुनासो आफ्नैसंग छ। संगठन बनाउन नेताले किन चासो नदिएको भन्ने प्रश्न नै पहिलो हुन्छ।’ अभियानमा हिडेका तरुण दल रोल्पाका क्षेत्रिय सभापती तिरजपती बुढाले भने ‘हरेक ठाउँका कार्यक्रमहरुमा सरकार र स्थानीय तहमा जनप्रतिनिधिले गरेका बदमासीका बारेमा मौन बसेकोप्रति नेतृत्वको खुलेर आलोचना भइरहेको छ।’ उनका अनुसार कांग्रेसीहरुमा उत्साह थपिएको छ।

केन्द्रदेखि स्थानीय स्तरसम्म आन्तरिक कलहमा फसेको कांग्रेसलाई यसपालिको जनजागरण अभियानले माझामाझ गर्न समेत सघाउ पुग्ने जिल्ला नेतृत्वले अपेक्षा लिएको छ। उता केन्द्रले खटाएका प्रतिनिधि पनि रोल्पालीको उत्साहमा दंग छन। ‘रोल्पामा उत्साह राम्रो देखियो। कार्यकर्ताको आफ्ना र विपक्षीसँगग मिश्रित गुनासो छ।

पार्टी सुधार र एकजुटका सवाल बढी प्रश्न उठ्ने गरेको छ।’ क्षेत्र न. २ का लागि केन्द्रीय प्रतिनिधिका रुपमा रोल्पा आएका नेता मोहनलाल वलीले भने ‘स्थानीय सरकार अराजक भएको र अनियमित भएको गुनासो पनि उत्तिकै छ। कार्यकर्ताहरु प्रतिरोध गर्नु पर्छ भन्नेमा छन्। अराजक र अनियमितता सवालमा नेतृत्वले साथ दिनु प¥यो भन्ने उनिहरुको माग छ।’

क्षेत्र न. १ का लागि केन्द्रले खटाएका हुकुमबहादुर बिष्टका अनुसार देशभरिका पीडित कार्यकर्ताको गुनासो एउटै रहेको बताउँछन्। ‘तर रोल्पामा नेता गाउँ आएनन् भन्ने गुनासो बढी छ। नेता मिलेनन, टुरिष्ट भए उनिहरुले कार्यकर्ताको भावना बुझेनन् जस्ता आरोप नै सुनिएको छ।’

उनका अनुसार सत्ताधारीले दुख दिएको, बेइमानीमा नेतृत्व मौन बसेको भन्ने नै हो। उता कांग्रेस जिल्ला सभापति अमरसिंह पुन पनि आफूप्रति प्रसस्तै गुनासो आएको बताउँछन। ‘हामी लक्षित नै बढी गुनासो आयो। ईमानदार कार्यकर्ताहरु संगठन सुदृढ नभएकोमा चिन्तित छन। जनताको आवाज सुनेनन, समय अनुसार चलेनन भन्ने आरोप छ। सत्ता पक्षले गरेका बदमासिका बारेमा बोलेनन् भन्ने गुनासो पनि उत्तिकै छ।’ पुनले आउदा दिनमा सबै सच्चिएर जाने बताए।

अभियानप्रति सत्तापक्ष पनि सकारात्मक
अभियानकै सिलसिलामा बाकेको नेपालगञ्जमा अराजक गतिविधि देखिए पनि रोल्पामा भने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी समेत कांग्रेसको जनजागरणप्रति सकारात्मक देखिएको छ। ‘कांग्रेसको यो अभियानले जिल्लामा राम्रै प्रभाव पार्ने विश्वास छ। सत्ता र प्रतिपक्ष बलियो भए भने देश र संघीयतालाई पनि राम्रो गर्छ।

हामीले सकारात्मक रुपमा लिएका छौ।’ नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीले भने ‘यस्ता कार्यक्रमले जनतामा राम्रो संदेश दिन्छ। साथीहरु हिडिरहनु भएको छ। यस्ता गतिविधि चाहिन्छ। आन्तरिक कलह सबैले सिध्यानुपर्छ। दलहरु आन्तरिक रुपमा मिलेमा सबैलाई राम्रो हुन्छ। यो सबै अच्छा गर्नको लागि हो।’

प्रकाशित: ३० भाद्र २०७६ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App