३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्वउपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर

१) पूर्वउपकुलपति डा.बिपी दास, २) पूर्व अस्पताल निर्देशक डा. अरविन्द सिन्हा, ३) वहालवाला रजिष्ट्रार तुलबहादुर श्रेष्ठ । तस्बिर : नागरिक

धरान– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा. बीपी दाससहित ८ जनामाथि बिशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विभिन्न उपकरण(वस्तु) तथा सेवा खरीदमा भ्रष्टचार गरेको दाबीसहित बिशेष अदालतमा उनीहरुविरुद्ध आरोप पत्र दायर गरेको हो। प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुले प्रचलित ऐन, नियम विपरीत वदनियतपूर्वक गैरकानुनीरुपमा आर्थिक लाभ लिएर सप्लायर्स तथा व्यक्तिगतरुपमा आफुलाई फाइदा पुर्याएको र प्रतिष्ठानलाई हानी नोक्सानी पुर्याएर करोडौ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। गएको बिहिबार मात्र प्रतिष्ठानका वहालवाला उपकुलपति डा.राजकुमार रौनियार र उनका भतिजलाई अख्तियारले घुस लिएको ८ लाख रुपैयाँसहित प्रतिष्ठानबाटै पक्राउ गरेको थियो।

अख्तियारले प्रतिष्ठानका तत्कालीन उपकुलपति डा.बलभद्र प्रसाद(विपी)दास, तत्कालीन अस्पतालका निर्देशक डा.अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको जनाएको छ। यी ४ मध्ये तुलबहादुर श्रेष्ठ वहालवाला रजिष्ट्रार हुन्। पुर्वउपकुलपति डा.दास र पूर्व अस्पताल निर्देशक डा. सिन्हा अहिले पनि प्रतिष्ठानमा कार्यरत छन्। दास प्रतिष्ठानको फार्माकोलोजीका प्राध्यापक हुन् भने सिन्हा प्याथोलोजी विभागको प्राध्यापक हुन्। पूर्वरजिष्ट्रार थापा प्रतिष्ठान बाहिरबाट नियुक्ति भएका थिए।

आयोगका अनुसार पूर्वउपकुलपति डा. दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ, पूर्व अस्पताल निर्देशक डा.सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय ११ रुपैया, पूर्व रजिष्ट्रार थापाले १ करोड ९६ लाख ९ हजार ८ सय ८० रुपैया र वर्तमान रजिष्ट्रार श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय ५ रुपैया अस्वाभाविक रुपमा बढी मूल्य तिरेर सामान खरीद गराएर प्रतिष्ठानलाई नोक्सानी पुर्याएका थिए। उनीहरुले वस्तु तथा सेवा खरीद गर्दा न्यु कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा सम्झौता गरी भुक्तानीसमेत दिएको अख्तियारको आरोपत्रमा उल्लेख छ। अख्तियारले नोक्सान पुर्याए बराबर रकम बिगो माग दाबी गरेको छ।

यस्तै, आयोगले प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध पनि भ्रष्टचार मुद्दा दायर गरेको छ। दुवैको भ्रष्टाचारमा मिलेमतो तथा संलग्न भएको पुष्टि भएपछि आरोप पत्र दायर गरिएको आयोगको भनाई छ। आयोगले भ्रष्टाचार बराबर नै दाहाललाई २ करोड ३४ लाख ८१ हजार ८ सय १९ रुपैया र श्रीवास्तवलाई १ करोड ७४ लाख १६ हजार २ सय रुपैया विगो असुल गर्न माग गरेको छ। यसैगरि, आयोगले उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोपराइटर चेतन अग्रवाल र अर्का, उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवालविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दामा आरोपत्र दायर गरेको छ। दुवै सहोदर दाजुभाई हुन्। विपी प्रतिष्ठानमा हुने औषधि, उपकरणलगायतको ठेक्का उनीहरुकै हालीमुहाली हुने गर्छ।

आयोगले प्रतिष्ठानका पदाधिकारीसँगको मिलेमतोमा हिनामिना तथा भ्रष्टाचार गरेर प्रतिष्ठानलाई दुवैले नोक्सानी पुर्याएको जनाएको छ। आयोगका अनुसार चेतन अग्रवालले १ करोड ४ लाख १६ हजार ७ सय ९७ रुपैया भ्रष्टचार गरेको दाबीसहित आरोप पत्र दायर गरेको छ भने उमेश अग्रवालले ६० लाख ३६ हजार ३ सय ४३ रुपैया भ्रष्टचार गरेको आरोप पत्र दायर भएको छ। उनीहरुलाई त्यति नै बराबर रकम अख्तियारले बिगो माग गरेको छ।

पदबाट स्वतः निलम्बन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार मुद्दामा बिशेष अदालतमा आरोप पत्र दायर गरेपछि विपी प्रतिष्ठानमा कार्यरत पदाधिकारी, चिकित्सक र कर्मचारीहरु स्वतःनिलम्बनमा परेका छन्। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वहालवालाहरु स्वतः निलम्बनमा पर्नेछन्। ‘वहालवाला पदाधिकारी र कर्मचारीहरु स्वतः निलम्बवनमा पर्छन्, अन्यको हकमा अदालती नियम र प्रक्रिया अनुसार हुन्छ’, प्रवक्ता कोइरालाले भने।

भ्रष्टाचार मुद्दा दायर गरिएका मध्ये रजिष्ट्रार तुलबहादुर श्रेष्ठ बहालवाला हुन्। उनको पद पनि स्वतः निलम्बनमा परेको छ। यस्तै, लेखा प्रमुख निदेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तव पनि निलम्बनमा परेका छन्। पदाधिकारी पदमा नभए पनि पुर्वउपकुलपति डा.विपी दास र पुर्वअस्पताल निर्देशक डा.अरविन्द सिन्हा प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन्। उनीहरु पनि स्वतः निलम्बवनमा परेका छन्।

प्रकाशित: ३० असार २०७६ १४:२१ सोमबार

वीपी_कोइराला_स्वास्थ्य_विज्ञान_प्रतिष्ठान भ्रष्टाचार अख्तियार मुद्दा