१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कहाँबाट ल्याए विप्लवले हतियार ?

सुर्खेत - कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन्। उनले तत्कालीन लडाकुका छवटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे।

लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूहले तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन् । ‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं’, उनले भने, ‘त्यहीं बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।’ उनले विप्लव समूहले अस्थायी शिविरहरुबाट हतियार लैजाने क्रममा आगजनीसमेत गरेको दाबी गरे।

वीरेन्द्रनगरमा बुधबार आयोजित पत्रकार भेटघाटमा मन्त्री खनालले विप्लव समूहले हिंसात्मक गतिविधि बढाएकाले प्रतिबन्ध लगाउनुपरेको बताए । ‘हामी देशलाई समृद्धिको मार्गमा डो¥याउने अभियानमा छौं, विप्लव समूहले त्यसलाई रोक्न खोज्यो’, उनले भने, ‘त्यसैले प्रतिबन्ध लगाइएको हो ।’ उनले संविधानमा राजनीतिक दललाई प्रतिबन्ध गाउने व्यवस्था नभए पनि बम विस्फोट गराउने, जनप्रतिनिधिलाई धम्की दिएर चन्दा असुली गर्नेलाई राजनीतिक दल मान्न नसकिने बताए।

कर्णालीबाट अर्गानिक अभियान
मन्त्री खनालले कर्णाली प्रदेशबाट अर्गानिक अभियानको सुरुवात गरिएको बताए । ‘१० वर्षभित्र देशलाई नै अर्गानिक बनाउने लक्ष्य सरकारको छ’, उनले भने, ‘त्यसको सुवात कर्णाली प्रदेशबाट गरेका छौं ।’ उनले अन्य प्रदेशको तुलनामा कर्णालीमा विषादीको प्रयोग कम रहेकाले कर्णालीबाट अर्गानिक अभियान सुरुवात गरिएको बताए । कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश निर्माणका लागि विधेयक तयार गरेको बताउँदै उनले तीन तहकै सरकारको समन्वयमा अर्गानिक प्रदेशको आधार तयार पारिने जनाए । उनले कृषिको उत्पादकत्व बढाउन व्यक्तिका नाममा रहेका जग्गा सहकारीमार्फत प्रयोगमा ल्याइने बताए ।

विप्लवविरुद्ध दोलखामा उच्च सुरक्षा सतर्कता
दोलखा - सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएसँगै दोलखामा सुरक्षा सतर्कता बढाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहका गतिविधि आपराधिक भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयसँगै उसले गर्न सक्ने प्रतिक्रियात्मक गतिविधि रोक्न बुधबार बिहानैदेखि प्रहरीले जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाएको हो ।

जिल्लाका २३ वटै प्रहरी युनिट तथा गाउँका प्रहरी चौकीहरूमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । जिल्लास्थित सुरक्षा अधिकारीहरूका अनुसार सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको छ । सडक क्षेत्रमा पट्रोलिङ गस्ती खटाइएको छ भने विप्लव समूहले गतिविधि गर्न सक्ने सम्भावित स्थानहरूमा निगरानी बढाइएको छ ।

दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले विप्लव समूहका गतिविधि हुन नदिन र भइहाले तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार सादा पोसाकमा समेत सशस्त्र र जनपद प्रहरी खटाइएको छ । दोलखामा २ सय ५० जनाको हाराहारीमा विप्लव समूहका कार्यकर्ता रहेको प्रहरीको अनुमान छ । उसका गतिविधि प्रायः रामेछापसँग सीमाना जोडिएका दक्षिणी गाउँमा हुने गरेको आशंका प्रहरीले गरेको छ ।

यता सरकारले प्रतिबन्ध लगाएपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता कार्यकर्ता भने पार्टीको सर्कुलर पर्खेर बसेका छन् । ‘भ्रष्ट दलालहरूलाई कारबाही गर्ने अभियान चलाएका थियौं,’ उक्त पार्टीका दोलखा जिल्ला अध्यक्ष यादव दाहालले नागरिकसँग टेलिफोनमा भने, ‘तर तिनै भ्रष्ट दलालहरूलाई खुसी पार्न हामीमाथि प्रतिबन्ध लगाएर लडाइँमा जान बाध्य पारिएको छ’ । उनले आफूहरू अहिले जिल्लाभित्रै रहेको र पार्टीको सर्कुलर कुरेर बसेको बताए । ‘अब कसरी अगाडि बढ्ने भनेर पार्टी केन्द्रको बैठक बस्दैछ,’ उनले भने, ‘उक्त बैठकबाट जे सर्कुलर आउँछ त्यहीअनुसार अगाडि बढ्छौं’ ।

प्रकाशित: ३० फाल्गुन २०७५ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App