४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हेलिकप्टर दुर्घटना अपडेट: सातै जनाको शव भेटियो, काठमाडौं ल्याउने तयारी

तस्बिर साैजन्य : एपीवान टेलिभिजन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सातै जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले दिएको जानकारी अनुसार घटनास्थल तारेभीरमा ७ वटै शव फेला परेको छ। 

शवलाई काठमाडौं ल्याउन नेपाली सेनाको एमआई १७ सहित ३ हेलिकप्टर घटनास्थल नजिकै पुगेका छन्। सेनासँगै एयर डाइनेस्टी र सिम्रक एयरको हेलिकप्टर ताप्लेजुङतर्फ प्रस्थान गरेको प्रवक्ता सुवेदीले बताए। हेलिकप्टर अवतरण गरेको ठाउँमा घटनास्थलबाट शव ल्याउन २ घण्टा लाग्छ। ‘हेलिकप्टरसम्म शव ल्याउन २ घण्टा लाग्छ। शव ल्याउने काम सुरु भइसक्यो’, उनले भने।  

प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय सिंह थापाका अनुसार मौसम प्रतिकुलताका कारण थप सुरक्षा टोली घटनास्थल पुग्न सकेको छैन्, जसले गर्दा शव एकीकृत गर्न केही समय लाग्ने देखिएकाे छ। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको नेतृत्वमा पुगेको सुरक्षा निकायसहित केही स्थानीयको टोलीले घटनास्थलमा शव एकीकृत गर्ने काम गरिरहेको छ। 

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको कार्यक्रममा सहभागिता जनाउन पुगेको बेला भने पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी युवराज दाहाल, र चालक प्रभाकर केसी रहेका थिए।

हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास दुर्घटनामा परेको थियाे। पौनो १२ बजे टावरसँग सम्पर्क गरेर पाथीभरामा रहेको जानकारी गराएको हेलिकप्टरको चालक दलले पौने १ बजे अन्तिपटक मौसममा समस्या आएको भन्दै तत्काल उडाउन नसकिने जानकारी दिएको थियो। त्यसपछि हेलिकप्टर सम्पर्कविहिन भएको थियो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App