५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

पुरुष भएकामा हिनताबोध हुन थाल्यो : सांसद भट्टराई

‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि दिक्तेलमा सम्झौता गरिँदै । तस्बिर : दमन राई/नागरिक

खोटाङ – ‘सत्तरी वर्षकी वृद्धामाथि पनि जाइलागेको छ । बालिकालाई पनि छाडेको छैन । कहिलेकाहीं त पुरुष भएकामा हिनताबोध पनि हुन्छ।’

यो भनाइ हो, प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको हो । ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि खोटाङ जिल्ला प्रहरी कार्यालयले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँग सम्झौता गर्न जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको कार्यक्रममा भट्टराईले मुलुकमा बढ्दो बलात्कार र यौन हिंसाका घटनाले कतिपय पुरुषको मानसिकतामा समेत असर परेको उल्लेख गरे । आपराधिक मनोवृत्ति बोकेका केही पुरुषका कारण समग्र पुरुषप्रति नै नकारात्मक धारणा विकास भइरहेको भट्टराईले बताए । ‘हजुरमाजस्तो मान्छेलाई यौन हिंसा गर्ने मन कसरी हुन्छ ? कलिला बालिका निमोठ्ने आँट कसरी आउँछ ,’ गम्भीर मुद्रामा भट्टराईले भने, ‘मानवता मरेको देख्दा बडो दुःख लागेर आउँछ।’

हजुरमाजस्तो मान्छेलाई यौन हिंसा गर्ने मन कसरी हुन्छ ? कलिला बालिका निमोठ्ने आँट कसरी आउँछ ? मानवता मरेको देख्दा बडो दुःख लागेर आउँछ ।

प्रतिनिधिसभा सदस्य भट्टराईले सम्बन्धित ठाउँका प्रहरी अधिकृतले चाहेको भए कञ्चनपुरकी निर्मला पन्तको हत्यारा सहजै पत्ता लगाउन सक्ने बताए । ‘टुक्रा–टुक्रा पारेर चारैतिर मिल्काइएका शव जोडेर प्रहरीले हत्यारा पत्ता लगाएको उदाहरण हामीसँग छ,’ उनले भने, ‘त्यस ठाउँका प्रहरी अधिकृतले चाहेका भए निर्मलाको हत्यारा पत्ता लगाउन नसक्ने कुरै थिएन ।’ सांसद भट्टराईले कतिपय घटनामा भने राजनीतिक हस्तक्षेपका कारण दोषीले उन्मुक्ति पाउने गरेको पनि उल्लेख गरे । आफ्ना कार्यकर्ता दोषी भए पनि तत्काल छुटाउन वा कम सजायका लागि प्रहरी प्रशासनलाई दबाब दिने तर अरू पार्टीको कार्यकर्ता दोषी भए तत्काल पक्राउ गरेर कडा कारबाहीका लागि आन्दोलन गर्ने प्रचलनले पनि समस्या सिर्जना भएको भट्टराईको भनाइ छ।

प्रतिनिधिसभा सदस्य भट्टराईले खोटाङकै खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र जन्तेढुंगा गाउँपालिका–६, दिप्लुङकी ३७ वर्षीया देवी विकको हत्यामा संलग्न दोषी पत्ता लगाउन प्रहरीको ध्यानाकर्षण गराए।

बढ्दो बलात्कार, यौन हिंसा, हत्या लगायतका घटना न्यूनीकरणका लागि नगरभित्र अभियान सञ्चालन गर्न मेयर दीपनारायण रिजाल र डिएसपी राजकुमार केसीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेका जिल्लाका ६ स्थानीय तहसँग ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि यसअघि नै सम्झौता भइसकेको डिएसपी केसीले बताए । ‘मानव सुरक्षा गर्दै सभ्य र शान्तिपूर्ण समाज निर्माणमा टेवा पु¥याउने अभियानको लक्ष्य हो,’ डिएसपी केसीले भने, ‘अभियानका माध्यमबाट सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि, संगठित अपराधको सञ्जाल निस्तेज पार्ने र नियन्त्रण गर्ने अपेक्षा राखेका छौं।’

प्रकाशित: ४ मंसिर २०७५ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App