१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

स्थायी कमिटी बैठकका लागि दोस्रो तहका नेताको लबिङ

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरूले तत्काल स्थायी कमिटी बैठक राख्न पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको पाँच महिना बित्दासमेत स्थायी कमिटी बैठक नबोलाएपछि रुष्ट दोस्रो तहका नेताहरूले बैठकका लागि लबिङ सुरु गरेका हुन्।

स्थायी समिति बैठक बस्न नसकेपछि पार्टीका सबैतहमा असन्तुष्टि बढ्दै गएको छ । पार्टीको स्थायी समिति बोलाउन ढिलाइ भएपछि पार्टी नेतृत्वलाई दबाब दिन स्थायी समिति सदस्यहरूबीचमा छलफल सुरु भएको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । ‘पार्टीका गतिविधि ँदा त्यसको असर शीर्ष नेतृत्वमै पर्छ, त्यसैले स्थायी समिति सदस्यहरूबीचमा अनौपचारिक रूपमा छलफल सुरु गरेका छौँ,’ पौडेलले भने।

यस विषयमा शीर्ष नेतृत्वलाई पनि जानकारी गराइसकिएको पौडेलले जानकारी दिए । पार्टीको स्थायी समिति बैठक तथा अन्य गतिविधिमा समेत ढिलाई हुँदा पार्टीप्रतिको विश्वास कमजोर भएर जाने उनको भनाई छ । ‘अहिले जनताहरूले पनि अपनत्व चाहिरहेका छन्, जनआधार पार्टीकै पक्षमा छ, पार्टीकै बहुमतको सरकार छ, यस्तो बेला स्वामित्व लिन ढिला गरेमा शीर्ष नेतृत्वको राजनेता बन्ने अवसर गुम्नसक्छ,’ पौडेलले भने । पार्टीलाई चलायमान बनाउने विषयमा कतैबाट दुषित मनसाय राख्न नहुने भन्दै पौडेलले व्यक्तिगत स्वार्थका पछि लागेमा त्यसको समीक्षा इतिहासले गर्ने बताए । ‘यो गुट उपगुट वा आफ्नो पराई सोच्ने बेला होइन, अहिले समग्र पार्टीको हित सोच्नुपर्छ,’ उनले भने।

नेकपाका अर्का स्थायी समिति सदस्य बेदुराम भुसाल नेतृत्वको कार्यशैलीका कारण स्थायी समिति बैठक बोलाउन ढिलाइ भइरहेको बताउँछन् । ‘उहाँहरूको काम नगरौँ भन्ने मनसाय होइन होला तर कार्यशैलीमा भने समस्या देखिन्छ,’ भुसालले भने । भुसाल पार्टी भित्र देखिएको जेठाजु प्रवृत्तिका कारण समस्या भएको बताउँछन् । पार्टीको काम व्यवस्थित हुन नसक्दा त्यसको असर सरकारका काममा पनि पर्ने र सिंगो राष्ट्रलाई समेत यसले प्रभाव पार्ने उनको तर्क छ।

नेता भूसाल २०५१ सालको नौ महिने सरकारका बेला तीन महिना भित्र पार्टीका नेता कार्यकर्ताहरूलाई सरकारको काम प्रभावकारी बनाउन खटिएकाले त्यसको सकारात्मक प्रभाव देखिएको दाबी गर्छ । अहिले भने सरकार बनेको लामो समयसम्म पनि सरकारको कामलाई सहयोग पुग्नेगरी नेता कार्यकर्ताहरूलाई परिचालन गर्न नसकेको भुसाल बताउँछन्।

लामो समयसम्म पार्टी गतिविधि प्रभावकारी रुपमा सञ्चालन नहुँदा सरकार र पार्टीका बीचमा सम्बन्ध नरहने, स्वेच्छाचारीता बढ्ने र स्थानीय र प्रदेश सरकार समेत स्वेच्छाचारी र भ्रष्टाचार उन्मुख हुने उनको दाबी छ । यसको प्रभाव विकास निर्माणमा पनि देखिने र सरकार र पार्टीप्रति नकारात्मक दृष्टिकोण पैदा हुने भन्दै नेता भूसालले जतिसक्दो छिटो स्थायी समिति बैठक बोलाउनुपर्ने र पार्टीका कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्ने बताउँछन्।

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ भने छिट्टै सचिवालय बैठक र स्थायी समिति बैठकको मिति तय हुने बताए । ‘तिहार लगत्तै बैठक बस्ने भनिएको थियो, अब एक दुई दिन भित्रमै बैठकबारे निर्णय हुन्छ,’ श्रेष्ठले भने।

नेकपाले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट तथा प्रदेश सदस्यहरूको नियुक्तिका लागि गठन गरेको कार्यदलले पनि आफ्नो जिम्मेवारी पुरा गरिसकेकाले दुई अध्यक्षबीच छलफल पछि सचिवालय बैठक र स्थायी समिति बैठकको मिति तय गर्ने श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २ मंसिर २०७५ ०२:०७ आइतबार

नेपाल_कम्युनिष्ट_पार्टी स्थायी_कमिटी_बैठक