१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारी कार्यालयले खरिद एउटै सामानमा तीनथरी मूल्य

काठमाडौं - सरकारी कार्यालयमा दैनिक काम सञ्चालनका लागि आवश्यक सामान खरिदमा कर्मचारीहरूले बजार मूल्यभन्दा तेब्बरसम्मको मूल्य पेस गरी भुक्तानी लिने गरेको पाइएको छ। कम मूल्य पर्ने समानलाई बढी मूल्य देखाएर बिलमार्फत् उनीहरूले अनियमिता गर्ने गरेको पाइएको हो। एउटै स्टेशनरी सामानको कार्यालयपिच्छे मूल्य फरकफरक देखाई बिल पेस गर्ने गरिएको छ। पाइलट पेन, डायरी, रजिष्टर, डटपेन, स्टापलर, फाइल, पेनड्राइभ, कापी जस्ता सामानमा कार्यालयपिच्छे फरकफरक मूल्य हुने गरेको छ।

स्टेशनरी पसलमा पर्ने मूल्यभन्दा दोब्बर तेब्बरसम्म रकम लेखिएका बिल कार्यालयमा पेस हुने गरेका छन्। राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनमा सरकारी कार्यालयमा प्रयोग गरिने स्टेशनरी सामान खरिदमा फरकफरक मूल्य देखिएको केन्द्रले जनाएको छ । बजारमा पर्ने मूल्यभन्दा दोब्बर, तेब्बरसम्म बिल बनाई सरकारी कार्यालयमा स्टेशनरी सामान खरिद गर्ने गरिएको केन्द्रले गरेको अध्ययनमा देखाइएको छ। केन्द्रले सरकारी कार्यालयमा प्रयोग गरिने स्टेशनरी सामान खरिदमा एकरूपता ल्याउन सरकारी कार्यालयलाई निर्देशन पनि दिएको छ।

कुनैकुनै स्टेशनरी समानमा बजार मूल्यभन्दा दोब्बर, तेब्बरसम्म पनि बिल पेस गर्ने गरेको देखिएको छ । सबै सरकारी कार्यालयमा मूल्यमा एकरूपता कायम गरिएमा स्टेशनरी सामान खरिद गर्दा हुने अनियमिता कम हुन्छ।

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले सरकारी कार्यालयमा प्रयोग गरिने स्टेशनरी समान खरिदमा फरकफरक मूल्यका बिल बनाई पेस गर्ने गरेको बताउँदै सबै सरकारी कार्यलयमा स्टेशनरी सामानमा एकरूपता ल्याउन केन्द्रले निर्देशन दिएको बताए। ‘कुनै कुनै स्टेशनरी समानमा बजार मूल्यभन्दा दोब्बर, तेब्बरसम्म पनि बिल पेस गर्ने गरेको देखिएको छ,’ उनले भने । सबै सरकारी कार्यालयमा मूल्यमा एकरूपता कायम गरिएमा स्टेशनरी सामान खरिद गर्दा हुने अनियमिता कम हुने उनको भनाइ छ।

केन्द्रले गरेको अध्यनमा बढी प्रयोग हुने स्टेशनरी समानमा कम प्रयोग हुने समानको तुलनमा बढी मूल्य बराबरको बिल देखाउने गरिएको पाइएको छ। सरकारी कार्यालयमा १ लाख रुपैयाँ बराबरसम्मका स्टेशनरी सामान खरिद गर्न कार्यालय प्रमुखलाई अधिकार दिइएको हुन्छ। यसैगरी ५ लाख रुपैयाँ बराबरको सामान खरिदमा तीनवटा कोेटेसन लिनुपर्ने कानुनमा व्यवस्था छ। तीनवटा कोटेसन लिदाँ पनि सरकारी कर्मचारी र कोटेसन दिने व्यावसायीबीच मिलोमतोसम्म हुने गरेको अध्ययनमा उल्लेख छ। एउटा पाइलट पेनको बजारमा समान्यता ७० रुपैयाँसम्म पर्छ। तर कार्यालयमा पेस गरिने बिलमा भने १ सय ५०, २ सय, २ सय ५०, २ सय २५ रुपैयाँसम्मको बिल देखाई पेस गर्ने गरिएको देखिएको छ। बजारमा पाइलट पेनको मूल्य गुणस्तरअनुसार फरकफरक रहेको हुन्छ। कम मूल्यका ७० रुपैयाँसम्म र बढी मूल्यका १ सयसम्म बजारमा पाइलट पेन खरिद गर्न सकिन्छ। तर सरकारी कार्यालयमा पेस गरिने बिलमा कम मूल्य बराबरको समान खरिद गरी बढी मू्ल्य बराबरको बिल पेस गर्ने गरिएको पनि देखिएको छ।

यसैगरी अन्य सामान खरिद गर्दा पनि यस्तै अनियमता हुने गरेको केन्द्रले गरेको अध्यनमा जनाइएको छ। सरकारी कार्यालयमा स्टेशनरी सामानको मूल्यमा एकरूपता नभएको विषयमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले पनि चासो राखेको छ। सबै सरकारी कार्यालयमा प्रयोग गर्ने समानमा एकरूपता ल्याउन मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले बताए। उनले भने, ‘सबै सरकारी कार्यालयमा प्रयोग गरिने स्टेशनरी समान खरिदमा एकरूपता ल्याउन हामीले सरकारी कार्यालयलाई निर्देशन दिएका छाैं।’ प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन कार्यान्वयन भए नभएको विषयमा प्रधानमन्त्रीको कार्यालयले अनुगन गर्ने तयारी गरेको पनि उनले जनाए।

प्रकाशित: ९ आश्विन २०७५ ०१:४५ मंगलबार

कर्मचारी सरकारी_कार्यालय