२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नगरप्रमुखको कार्यशैलीप्रति उपप्रमुखको असन्तुष्टि

नीलकण्ठ नगरपालिकाका उपप्रमुखलगायत वडाध्यक्षले धादिङबेसीमा गरेको पत्रकार सम्मेलन । तस्बिर: सरिता/नागरिक

धादिङ – नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको कार्यशैलीबाट नगर उपप्रमुख र वडाध्यक्षहरू असन्तुष्ट बन्न थालेका छन् । नगरभित्रका विकास निर्माण तथा अन्य कार्यमा नगरप्रमुखले एकलौटी गरेको भन्दै धादिङबेसीमा पत्रकार सम्मेलन गरी उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

‘स्थानीय तहको निर्वाचनपछि विधि, प्रक्रिया र कानुनका आधारमा शासन व्यवस्था सञ्चालनको मूलधारमा रहन चाहे पनि एकलौटी निर्णयले कानुनको उल्लंघन भएको छ,’ उपप्रमुख मनराज भण्डारीले भने, ‘जनतामा गरेको प्रतिबद्धता पूरा गर्न लागिरहदाँ नगरप्रमुखले सहमति र सहकार्यको साटो बहुमत सदस्यको साथ लिई कानुनको ठाडो उल्लंघन गरी एकलौटी ढंगबाट गैरकानुनी कार्य गरेका छन्।’

कुन नगरपालिकाको २४ जना सदस्यमध्ये ८ वटा वडाध्यक्षसहित उपप्रमुख र १ सदस्य गरी १० जनाले नगरपालिकाले गरेका बैठकका निर्णयप्रति पूर्ण असहमति जनाएका छन् । नगरपालिकाको सबै निर्णयका प्रक्रियामा सर्वसम्मत तरिकाबाट हुन सकेमात्र नगरपालिकाले लिएका रणनीतिक योजनाको सपना पूरा हुने भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । गत असार १० र ११ गते भएको नगरसभामा ३३ वटा निर्णय गरि रातो किताबमा समावेश गर्दा असार ९ गते को कार्यपालिका बैठकमा कुनै पनि प्रस्तावमाथि छलफल नगरी एकलौटी ढंगबाट निर्णय लेखी प्रमुखले निर्णय प्रमाणित गरी रातो किताबमा समावेश गरिएकोमा असहमति प्रकट गरेका छन्।

एकलौटी निर्णय लादेको, फरक विचारको सम्मान नगरेको, वडाध्यक्षको क्षेत्राधिकार मिचेको, लामो समय विदेश भ्रमणमा जाँदा कार्यवाहक नदिएको, तथा नगरसभाबाट पारित गरिएको नीति नियम र ऐन नियम नै उल्लंघन गरेको पत्रकार सम्मेलनमा उपप्रमुख भण्डारीले आरोप लगाएका छन् । विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा नगरप्रमुखले शिक्षा अधिकृतमार्फत एकलौटी रूपमा २ सदस्य मनोनित गरी सिफारिस गरेकोमा असमति जनाएको बताए।

नगरप्रमुख ७ दिनभन्दा बढी अनुपस्थित भएमा उपप्रमुखलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने उल्लेख भएकोमा विदेश भ्रमण जाँदासमेत कार्यवाहक जिम्मेवारी नदिई विदेश भ्रमण जाने प्रक्रियाप्रति उनीहरूले असहमति जनाएका छन् । नगर कार्यपालिकाको बैठकको निर्णय बिना तारजाली, पाइप, बिजुलीको पोल लगायतका पूर्वाधार बिकासका सामग्रीहरु आफुखुसी वितरण गर्ने गरेको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

यता नीलकण्ठ नगरपालिका वडा नं २ का वडा अध्यक्ष ध्वजबहादुर गुरुङले वडाको सिफारिसबिना योजनाहरूको रकम पछ्यौट गरिदिने जस्ता गलत कार्य नगरप्रमुखले गरेको आरोप लगाएका छन् । ‘८० हजार रुपैयाँको चिसापानी खानेपानी आयोजना र ५ लाखको केराबारी सडक आयोजना वडामा कुनै जानकारी र पत्र नदिई मेयर आफैंले सो स्वविवेकले निर्णय गरेका छन्,’ गुरुङले भने, ‘वडामा न योजना छ न निर्णय नै गरेको छ, यो विधि, प्रक्रियाभन्दा बाहिरी रहेको छ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १२ को खण्ड ङ बमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित गर्ने अधिकारमाथि हस्तक्षेप गरि ऐन विपरित नगरपमुखले नगरभित्रका विभिन्न आयोजनाहरुको सम्झौता र फरफारक गर्न सिफारिस गर्ने गरेको कार्यप्रति असहमति जनाएको गुरुङले बताए।

नगरपालिकाभित्र एकलौटी रूपमा बहुमतको आडमा कानुनविपरीतका निर्णय गरेको आरोप लागेका नगरप्रमुख भीमप्रसाद ढुंगानाले आपूmमाथि लागेका आरोप गतल र भ्रामक भएको बताए । जनताको सेवा र नगरको विकासका लागि जनताका घरघरमा भोट माग्न गएको सम्झदै ढुंगानाले आफूले गरेको निर्णय गैरकानूनी र एकलौटी नभएको बताएका छन्।

‘सहमतिकै आधारमा जनताको माग र नगरपालिकाको बजेट तथा नीतिको परिधिभित्र रहेर काम गरेका छौ, प्रमुख ढुंगानाले भने, ‘कानुनविपरीत कुनै पनि काम र निर्णय गरेको प्रमाणित गराउन आग्रह गर्छु।’

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलबाट मेयरमा कांग्रेसका भीमप्रसाद ढुंगाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारीले चुनाव जितेका थिए । वाम गठबन्धनको सरकार बनेपछि मेयर र उपमेयरको कार्यशैलीप्रति विवाद हुँदै आइरहेको छ।

प्रकाशित: २७ भाद्र २०७५ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App