११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

बेलायतका दक्षिए एसीया विभाग प्रमुखसँग दाहालको भेट

काठमाडौं- बेलायतका दक्षिण एसीया विभाग प्रमुख ग्यारेथ बेलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। अध्यक्ष निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतबीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो। दाहालले राजनीतिक परिर्वतन पश्चात देशमा आएको आर्थिक समृद्धि लहर र त्यसका आधारहरु बारे स्पष्ट पारे। उनले भने, ‘नेपालमा लामो समय पश्चात राजनीतिक स्थिरता कायम भएको छ, यो नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बलियो आधार हो।’

अध्यक्षले नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको बताउँदै विश्वका धेरै लगानीकर्ताहरु यहाँ लगानी गर्न इच्छुक रहेको बताए। उनले भने, ‘हामी लगानीकर्ताको सुरक्षा र लगानीको ग्यारेन्टी गर्न योजना बनाईरहेका छौं।’ पर्यटनको उत्तिकै सम्भावना भएको उल्लेख गर्दै दुई ठूला जनसंख्या भएका देशका पर्यटकको गन्तव्य पछिल्ला दिनमा नेपालमा बढ्दै गएको उनको भनाई थियो। दाहालले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारको निर्माण हाम्रो पहिलो सर्त हो।’

भेटका अवसरमा प्रमुख बेलीले विश्वभरीमा सबैभन्दा प्रिय देश नेपाल भएकाले यहाँ लगानीकर्ताहरु आकर्षित भएको बताए। नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरु इच्छुक रहेको उनको भनाई थियो। उनले सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको पनि बताए।

 

प्रकाशित: १४ भाद्र २०७५ ०६:४५ बिहीबार

प्रचण्ड बेलायत