१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

‘प्रदेश सरकारको बिदा नमान्नेलाई कारबाही’

 वीरगन्ज-  प्रदेश २ को सरकारले आफुले घोषणा गरेको बिदा सरकारी निकायबाट पालना गराउन कडाईमा उत्रेको छ। प्रदेश –२ को सरकारले जनैपुर्णीमामा आइतवारका लागि घोषणा गरेको सार्वजनिक विदालाई केही सरकारी कार्यालयहरुले वेवास्ता गरेको सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको आरोप छ।

सरकारी कार्यालयका कर्मचारीहरु प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदामा कार्यालय बन्द गर्न नमानेकोले जनकपुरस्थित राष्ट्र बैक कार्यालयबाट ताल्चा हान्ने काम सुरु गरिएको मुख्यमन्त्री लालबाबु राउतले भने। उनले अरु सरकारी कार्यालयलाई पनि कारवाहीको दारयामा ल्याइने बताए। मुख्यमन्त्री राउतले ति सरकारी कार्यालयहरुले प्रदेश सरकारले गरेको विदाको बेवास्ता गरेर संघीयतालाई कमजोर बनाउने खोजेको आरोप लगाए।

प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरुले नै प्रदेश सरकारको विदाको बेवास्ता गरेपछि सरकारले यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। ‘पहिले अन्यौलताको अवस्था भएको भन्दै हामीले बिदा सम्बन्धी अटेरीलाई गभीरतासाँथ लिएका थिएनौं, अब त कानूनले भनिसकेको छ,’ प्रदेश २ का भौतिक पुर्वाधारविकास मन्त्री जितेन्द्र सोनलले भने, ‘भदौ १ गते लागु भएको देवानी कार्यविधी संहिताको दफा ५१ को स्पष्टिकरणले नेपाल सरकार वा प्रदेश सरकारले घोषणा गरेको विदालाई सार्वजनिक विदा भनिसकेको अवस्था छ।’

उनले सरकारले घोषणा गरेको सार्वजनिक बिदा अवमानना गर्ने बिरुद्ध कारवाही थालेको बताए।  निजी तथा सरकारी वितिय संस्था, सरकारी कार्यालय र अदालत समेतले प्रदेश सरकारको बिदाको पालना गर्नुपर्ने उनले प्रदेश सरकारको ठहर रहेको बताए। संघीय (केन्द्र) सरकार मातहतका कार्यालयसंगै निजी तथा सरकारी वित्तिय संस्थाले पनि प्रदेश सरकारको विदा मानेका छैनन। उनीहरुले राष्ट्र बैंकको निर्देशन अनुसार मात्र विदा मान्ने बताएका छन्। प्रदेश सरकारको विदा पालना गर्नेमा विधालय, यातायात व्यवस्था कार्यालय र स्थानीय तहका कार्यालयहरु रहेका छन्।

प्रकाशित: १० भाद्र २०७५ १४:२९ आइतबार

प्रदेश_सरकार संघीयता विदा