२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेशसभामा प्रधानमन्त्रीले झुठो वक्तव्य दिएको कांग्रेसको आरोप

प्रधानमन्त्री केपी ओलीविरुद्ध पत्रकार सम्मेलन गर्दै प्रदेशसभा कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलगायत । तस्बिरः सुरेश/नागरिक

जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले झुठो अभिव्यक्ति दिएर जनतालाई भ्रममा पार्ने काम गरेको प्रदेश कांग्रेसले आरोप लगाएको छ । गत शनिबार प्रदेश २ को संसद्लाई सम्बोधन गर्ने क्रममा ओलीले प्रमुख दुई विषयमा झुठो बोलेको कांग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादवको जिकिर छ।

‘पहिलो त उहाँ (ओली) ले प्रधानमन्त्रीको हैसियतमा प्रदेशसभालाई सम्बोधन गर्नु नै गलत थियो,’ प्रेस युनियनले मंगलबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले भने, ‘त्यसमा पनि प्रदेश सांसदबीच सफेद झुठ बोलेर प्रधानमन्त्रीजीले आफ्नो गरिमा खसाउने काम गर्नुभएको छ।’

प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मलेठ घटना र राजर्षीजनक विश्वविद्यालयबारे झुठो बोलेर संसद्लाई समेत गुमराहमा राख्ने प्रयास गरेको यादवको आरोप छ । प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले मलेठमा तत्कालीन एमालेले आयोजना गरेको जागरणसभा विसर्जन गरेर आफूहरू राजमार्गमा फर्किसकेपछि गोली चलेको बताउँदै गोली किन, कसरी र कसको आदेशमा चलेको भन्ने आफूलाई अझै यकिन हुन नसकेको सुनाएका थिए।

पाँच जनाको ज्यान जानेगरी भएको उक्त गोलीकाण्डको बेला न आफ्नो नेतृत्वमा सरकार रहेको न आफूले सरकारको नेतृत्व गरेको भन्दै ओलीले प्रदेशसभामा भनेका थिए, ‘घटनालगत्तै दुःख व्यक्त गरेको मैले मलेठ घटना रहस्य अझै बुझ्न सकेको छैन ।’ उक्त घटनामा आफ्नो कुनै दोष नरहेको प्रधानमन्त्री ओलीको जिकिर थियो।

प्रधानमन्त्रीको हैसियतमा प्रदेशसभालाई सम्बोधन गर्नु नै गलत थियो । त्यसमा पनि प्रदेश सांसदबीच सफेद झुठ बोलेर प्रधानमन्त्रीजीले आफ्नो गरिमा खसाउने काम गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेस दलका नेता यादवले भने, ‘२०७२ फागुनमा भएको उक्त घटनालगत्तै तत्कालिन एमालेका महासचिव ईश्वर पोखरेलले प्रेस विज्ञप्ति जारी गरी सभा बिथोल्ने नाउँमा प्रदर्शनकारीले आपूmहरूलाई मलेठमा घेरा हालेर सामूहिक हत्या प्रयास गरेको आरोप लगाउनुभएको थियो।’

लगत्तै ओलीजीले पनि अंग्रेजी भाषामा सोही कुरो ट्विट गरेको बताउँदै यादवले मधेसी जनताप्रति घृणा पैदा गराउन दुनियाँलाई जानकारी गराउने उद्देश्यले पोखरेलले जारी गरेकै विज्ञप्तीको भनाइ पुनः सम्प्रेषण गरिएको जिकिर गरे । ‘त्यसबेला सभास्थलमा घेरा हालेर सामूहिक हत्या प्रयास गरेको र सो क्रममा दुई तर्फी झडप भएको बताउने व्यक्ति नै आज प्रधानमन्त्रीको हैसियतमा आफूहरू राजमार्गमा फर्किसकेको अवस्थामा गोली चलेको दाबी गर्नु सफेद झुठ हो,’ उनले भने।

त्यस्तै, दुई दशकदेखि प्रक्रियामा रहेर हाल वैधानिक मान्यता प्राप्त गर्दै सम्पूर्ण तयारी सकेर पठनपाठन सञ्चालन गर्ने चरणमा पुगेको राजर्षी जनक विश्वविद्यालयबारे ओलीले नकारात्मक अभिव्यक्ति दिएको यादवले आरोप लगाए । ‘२०७४ कात्तिक १२ गते विधिवत स्थापना भएको विश्वविद्यालयमा संघीय र प्रदेश सरकारले छुट्टाछुट्टै बजेट उपलब्ध गराइदिएपछि सञ्चालन भएर कक्षासमेत सुरु गर्ने तयारीमा पुगिसक्यो,’ उनले भने, ‘राजर्षीजनक विश्वविद्यालय सञ्चालन नहुँदै सिकिस्त भएको अवस्था देखाएर प्रदेश २ मा अर्कै विश्वविद्यालय स्थापना गर्नुपर्ने आशयको अभिव्यक्ति दिनु एक प्रधानमन्त्रीको लागि अशोभनीय कुरा हो।’

प्रदेशको शैक्षिक विकासको लागि चार–पाँच वटा विश्वविद्यालय खोलिदिए झनै राम्रो हुने भए पनि करोडाैं बजेट परिचालन भएर सञ्चालनको चरणमा पुगिसकेको एउटा विश्वविद्यालयलाई राजनीतिक दुराग्रह देखाउनकै लागि होच्याउने काम गर्नु बिडम्बना भएको उनले दोहोर्याए । आफू जिल्ला सभापति हुँदाकै बखत (२०५६) एक करोड पाँच लाख रुपैयाँ विनियोजन गरेर राजर्षिजनक विश्वविद्यालयको नाउँको खातामा जम्मा गरेको उल्लेख गर्दै उनले थपे, ‘कांग्रेस नेता विमलेन्द्र निधिको प्रयासमा यो विश्वविद्यालय स्थापना भएको हो । उहाँ (निधि) लाई राजनीतिक रूपमा तल देखाउनकै लागि प्रधानमन्त्रीजीले गलत बोल्नु भएको हो । म उहाँको उक्त भनाइप्रति खेद प्रकट गर्छु।’

संविधान संशोधनको विषयमा पनि ओलीले प्रदेश संसदलाई भ्रममा पार्न खोजेको उनले टिप्पनी गरे । ‘ओलीजीले चाहेको भए चुनाव अगाडि कांग्रेस नेतृत्वकै सरकारले संशोधन गरिसक्ने थियो । त्यसबेला कामा र फुलस्टपसमेत हेरफेर नहुने भनेर दर्जनौं आन्दोलनकारीले सहादत दिनुपरेको थियो । आज तिनै व्यक्तिले आपूm संशोधनको विपक्षमा नरहेको भनेको सुहाउँछ ?,’ यादवले भने।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामकृष्ण यादवले वाम सरकारले संघीयतालाई धरापमा पार्ने काम गरिरहेको आरोप लगाए । लोकतन्त्र र संघीयताको मुद्दामा चर्का भाषण गर्ने प्रधानमन्त्री ओलीले संघीयताप्रति जनतामा वितृष्ण फैलाएर कसैगरी यथास्थितिमै फर्काउने दाउमा लागेको उनले जिकिर गरे । ‘वर्तमान सरकारको रबैयाको कारण यतिबेला लोकतन्त्र खतरामा पुगेको छ,’ उनले थपे, ‘लोकतन्त्र र संघीयताको रक्षाको लागि नागरिक समाज चनाखो हुनुपर्ने बेला आएको छ।’

प्रकाशित: ६ भाद्र २०७५ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App