८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालमा संसारकै थोरै कर : प्रधानमन्त्री ओली

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संसारकै सबैभन्दा थोरै कर भएको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा ओलीले नेपालमा जति थोरै कर, सस्तो बजार र मूल्य संसारमै नभएको बताए। 

ओलीले अन्य देशको तुलनामा थोरै कर हुँदा हुँदै पनि चर्को कर लगाएको भन्ने अफवाह फैल्याउन केही समूह सक्रिय रहेको आरोप लगाए। ओलीले भने,‘करका विषयमा भ्रम र अफवाह फैल्याउन केही व्यक्ती र समूह सक्रिए भएका छन्।’

उनले कतै कर तिर्न नसकेर गाईबस्तु नगरपालिकालाई बुझाएको, कतै साइकल चढ्नेलाई पनि मासिक कर लगाएको, सबैथोकमा कर बढेको जस्ता सनसनीपूर्ण हल्ला फैलाउने काम भइरहेको बताउँदै हल्ला भएजस्तो बास्तविकता नरहेको दाबी गरे। ‘मोरङ मै साइकललाई  मासिक कर लगाएको हल्ला गरिएको थियो’ उनले भने, ‘मलाई देखाइदिनुस् कुन स्थानीय तहले  साइकललाई मासिक कर लगाएको छ।’

ओलीले संविधान बनाउँदै सिंहदरबारका अधिकार गाउँमा ल्याउने भनिएको र सोहि अनुसार स्थानीय तहलाई पनि कर लगाउने अधिकार दिइएको  स्पष्ट पारे। ‘जे गरे पनि जसो गरे पनि आलोचना मात्रै गर्ने ?, विरोधमात्रै गर्ने ?’ भन्दै उनले प्रश्न गरे। कसैको उलामालामा सरकार नलाग्ने स्पष्ट पार्दै ओलीले सरकारले जे गर्नुपर्ने हो त्यही गर्छ भने। ‘कही कतै कमी कमजोरी भए परिमार्जन हुन्छ’ उनले भने ‘उलामालाको पछि सरकार लाग्दैन।’ 

 

प्रकाशित: ५ भाद्र २०७५ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App