१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेको प्रस्ताव: मानव सूचकाङ्कका आधारमा बजेट विनियोजन गरौँ

सत्तासीन दल नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले मानव सूचकाङ्कका आधारमा बजेट विनियोजन गर्न प्रस्ताव गरेका छन्।

शुक्रबार (आज) संसद्‌मा जारी विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै श्रेष्ठले यस्तो बताएका हुन्।

'१६औं पञ्चवर्षीय योजनाअनुरूप बजेट विनियोजन हुनुपर्छ। एकातिर योजना बनाउने र काम अर्कोतिर गरेपछि लक्ष्यमा पुगिँदैन। अहिलेसम्म हामीले पञ्चवर्षीय योजनाअनुसार काम गर्न सकिरहेका छैनौँ। यसलाई आधार मानेर जानुपर्छ। र, बजेट विनियोजन मानव सूचकाङ्कका आधारमा हुनुपर्छ। विगतमा पनि माननीयज्यूहरूको धेरै ठूलो असन्तुष्ट रह्यो बजेट विनियोजनमा। मानव सूचकाङ्कका आधारमा गरियो भने कसैले बोल्न पाउँदैन,' उनले भने।

अगाडि उनले थपे, 'मधेस प्रदेश शिक्षामा सबैभन्दा पछाडि छ। र, गरिबीमा कर्णालीपछि सायद दोस्रो हो। यसपटक चाहिँ हाम्रो सरकारले सूचकाङ्कका आधारमा बजेट विनियोजन गरोस्।'

उनले संविधानमा समाजवादउन्मुख भनिएकाले बजेट निर्माण नि त्यसैगरी गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २ जेष्ठ २०८२ १५:४७ शुक्रबार

#lilanath shrestha