१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

दाहाललाई थापाको प्रश्न- सत्ता बाहिर बस्दा यति, ओम्नी र गिरीबन्धुका कर्कस गीत गाउने, सरकारमा हुँदा सुन तस्करीको साम्राज्य चलाउने ?

सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद सूर्य थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री हुँदा सुन तस्तरीको साम्राज्य चलाएको आरोप लगाएका छन्।  

बिहीबार (आज) संसद्‌मा जारी विनियजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै थापाले दाहाललाई यस्तो आरोप लगाएका हुन्।

सत्ता बाहिर हुँदा आक्रामक बन्ने तर, सरकारमा बस्दा केही नगर्ने प्रवृत्ति दाहालमा देखिएको उनले बताए। दाहालको नाम नलिइकन थापाले भने, 'सत्ता बाहिर बस्दा यति, ओम्नी र गिरीबन्धुका कर्कस गीत गाउने, तर सत्ताबाट खुर्मुरिएर बाहिर जानुपर्दा फाइल खोल्नै लागेको थिएँ, हटाए भनेरचाहिँ एक ढङ्गले भ्रम छर्ने। बीस महिना सरकारको नेतृत्व गर्दा छानबिन, अनुसन्धान केही गर्दै नगर्ने, सुन तस्करीको साम्राज्य चलाउने, जाँचबुझ आयोगको प्रतिवेदनसमेत सार्वजनिक नगर्ने, यस्तो रवैया हामीले भोगिरहेका छौँ,' उनले भने।

उनले पछि भने, 'जबकि ३२ सिट, २१ वा १४ सिट जितेर आए पनि सरकारको नेतृत्व बीस महिना र सहनेतृत्व पटक-पटक गर्न पाएकै स्थिति हो। दोस्रो र पहिलो पार्टीले २४ र १८ महिना सरकारको नेतृत्व गर्दा वा गर्ने भन्दा किन छटपटी हुन्छ ? किन अस्थिरताको खेती हुन्छ ?'

थापाले सत्तापक्षमा हुँदा समस्यै नदेख्ने र प्रतिपक्षमा पुग्दा समस्यै-समस्या देख्ने प्रवृत्ति संसद्‌मा भएको उनले बताए।

'हामीमा फेक रिप्रेजेन्टेसनको रोग छ। हामी धुलोमा खुट्टाले टेकेर, बाँसुका सुकिलामा लिर्किटो खेल्दै रुखमुनि र अँध्यारो आकाशमुनि पनि खुला कक्षाकोठामा पढेर आएकाहरूले त्यो जिन्दगी राम्रोसँग भोगेका छौँ तर, त्यो जिन्दगी कहिल्यै नभोगेका, बुर्ज खालिफा हेरेर घुमेर दङ्ग पर्दै हाम्रै झापामा निर्माण सम्पन्न भएको र सञ्चालनको पर्खाइमा रहेका १९ तले बिजिनेस टावरलाई खिसिट्युरी गर्ने क्रम यहाँ देखिन्छ। पाथीभरामा केबुलकार निर्माण गर्न ज्यान जाला दिन्नौँ भन्ने अवरोध गरेको सुनिन्छ, व्यवस्था अपाच्य भएको भनेर प्रतिगामी व्यवस्थाको पक्षधर बन्दै केवल अवलोकन गरेर देशको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भ्रष्टाचार मात्रै भएको दाबी सुनिन्छ,' उनले भने।

प्रकाशित: १ जेष्ठ २०८२ १५:१७ बिहीबार

#Surya Thapa