स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्वका लागि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
एक हजार पाँच सय ७४ मतदातामध्ये नौ सय चार जनाले मतदान गरेको क्याम्पस प्रमुख गंगाराम पौडेलले जानकारी दिए । केहीबेरपछि बैठक बसेर मतगणना सुरु गरिने उनले जनाए । ‘गणना पनि रातभरिमा सकिने अनुमान गरेका छौं,’ उनले भने, ‘शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।’
नयाँ नेतृत्वका लागि विद्यार्थी सङ्गठनहरू विभिन्न प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । अनेरास्ववियु तथा नेपाल विद्यार्थी संघको संयुक्त प्यानल बनेको छ भने अनेरास्ववियु (क्रान्तिकारी)सहितको साझा प्यानल पनि बनेको छ । अनेरास्ववियु तथा नेपाल विद्यार्थी संघको संयुक्त प्यानलबाट अध्यक्षको उम्मेदवार विशाल कार्की (अनेरास्ववियु) छन् । कार्की यसअघिको स्ववियु निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर कोषाध्यक्षमा विजयी बनेका थिए ।
सचिवमा रेखा बेघा (नेविसंघ) र कोषाध्यक्षमा सुनील शंकर (अनेरास्ववियु) उम्मेदवार छन् । यो प्यानलमा प्रत्यक्ष सदस्यतर्फ विष्णु खतिवडा (अनेरास्ववियु), मंगेश राई ( अनेरास्ववियु) विना बस्नेत (अनेरास्ववियु), कुसल राई (नेविसंघ), निशा भट्टराई (नेविसंघ), सुरेन गुरुङ (नेविसंघ) र विप्लव एक्तेन (नेविसंघ) उम्मेदवार छन् ।
साझा प्यानलबाट अध्यक्षको उम्मेदवार शम्भू राई (अखिल क्रान्तिकारी) छन् । राई यसअघिको निर्वाचनबाट स्ववियु सदस्य निर्वाचित थिए । सचिवको उम्मेदवार सविन चौहान छन् भने कोषाध्यक्षमा मनिष गजमेर छन् ।
सदस्यहरूमा अनिता लम्जेल, आयुष लिम्बू, दुर्गा तोलाङ्गी रेविका, राजन खतिवडा, राजेश राई, संगीना लिम्बू र सफल लिम्बू उम्मेदवार बनेका छन् । फाकफोकथुमको एकतप्पा बहुमुखी क्याम्पस, देउमाईको मंगलबारेमा बहुमुखी क्याम्पस र माई नगरपालिकाको गरुवा बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत रूपमा स्ववियु नेतृत्व चुनिएको छ ।
प्रकाशित: ५ चैत्र २०८१ १७:३८ मंगलबार





