१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसले मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने

नेपाली कांग्रेस कोसी प्रदेशको सम्मेलन मंसिर २२ गते हुने भएको छ। नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको पूर्ण बैठकले मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। 

सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र राई, उमेश थापा र कोषाध्यक्ष राजेश गुप्तालाई जिम्मेवारी दिइएको प्रवक्ता यदुकुमार विष्टले जानकारी दिए।

प्रवक्ता विष्टका अनुसार बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरूलाई विजयी गराउन निर्वाचन परिचालनका लागि निर्वाचन हुने स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णयसमेत गरेको छ। त्यस्तै नेपालकै  होचो स्थान झापाको कचनाकवलदेखि संसारको अग्लो स्थान सगरमाथा रहेको सोलुखुम्बुसम्म ‘कचनाकवल–सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।

प्रदेश समितिले जागरण अभियानको आवश्यक तयारी र केन्द्रीय समितिद्वारा सञ्चालित सय दिने अभियानलाई सहयोग गर्नका लागि कोसी प्रदेशका ५६ वटै  प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भएको छ। साथै जागरण अभियानको अवधारणा पत्र र प्रतिनिधिहरूका लागि कार्यविधि तयार गर्न प्रवक्ता विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ। समितिको सदस्यमा उत्तम कुमार चौलागाईं, बाबुराम कोइराला (वासु), रञ्जिता कार्की र सदस्यसचिवमा नारायण कोइराला छन्। 

प्रकाशित: १३ कार्तिक २०८१ १८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App