८ माघ २०८१ मंगलबार
image/svg+xml १६:२० अपराह्न
राजनीति

कोइराला परिवारमा महाधिवेशनकै धङधङी: शेखर र शशांक दुवैको उम्मेदवारी !

नेपाली कांग्रेसका विधानमा उल्लेखित ‘चारवर्षे कार्यविधि’ को व्यवस्थालाई नै टेकेर १५ औं महाधिवेशन हुने हो भने पनि त्यो आउन अझैँ १५ महिना बाँकी छ। ०७८ मंसिरमा भएको १४ औं महाधिवेशन वर्तमान कार्यसमिति निर्वाचित गरेको थियो। जसअनुसार महाधिवेशन गर्दा ०८२ मंसिरमा गर्नुपर्छ।

तर, त्यसको सम्भावना लगभग छैन। अर्थात् विधानले नै दिएको थप एक वर्षको व्यवस्थालाई टेकेर ०८३ मंसिरसम्म महाधिवेशन गर्ने सभापति शेरबहादुर देउवासहितका पदाधिकारीको मनसाय छ। त्यसो हुँदा महाधिवेशन आउन अझै २७ महिना बाँकी देखिन्छ।

तर, स्थापनाकालदेखि नेतृत्वमा दबदबा जमाएको कोइराला परिवारमा भने महाधिवेशन धङधङी सुरु भइसकेको छ। सुशील कोइरालाको निधनपछि लगालग दुई कार्यकाल देउवा सभापति हुँदा नेतृत्वविमुख रहेको कोइराला परिवार गुमेको विरासत फर्काउने ध्याउन्नमा छ।

तर, परिवारमा एकता नहुँदा त्यो प्रयास अनिश्चयको घेरामा छ। अहिले कांग्रेस राजनीतिमा पूर्व महामन्त्री एवं विपी पुत्र डा. शशांक कोइराला, गिरिजापुत्री सुजाता कोइराला र नोनापुत्र डा. शेखर कोइराला सक्रिय छन्।

१४ औं महाधिवेशनमा तीनैजनाबीच परस्पर सहकार्य हुन नसकेको इतिहास छ। शेखर सभापतिमा देउवासँग भिड्दा शशांक तटस्थ बसेका थिए। शेखर समूहले शशांकले देउवालाई सघाएको भन्दै आएको छ। सुजाता भने प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा भिडेकी थिइन्।

पार्टीको महाधिवेशनको मिति झण्डै अढाई वर्ष टाढा हुँदा कोइराला परिवारलाई भने महाधिवेशन लागिसकेको छ। सबैभन्दा बढी हतारो शेखरलाई देखिएको छ। गतपाली ‘एक पटक, यसै पटक’ भनेर सभापतिमा होमिएका शेखर पराजित भए लगत्तै फेरी लड्ने मनसायमा पुगिसकेका थिए।

निकटस्थहरूलाई उतिबेलै १५ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने सुनाइसकेका थिए।पछिल्लो समय शेखरले मुखरित भएरै आफू सभापतिमा उठ्ने बताइरहेका छन्।

१५ औं महाधिवेशनमा उनी कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार भएर विरासत फर्काउने ध्याउन्नमा छन्। जसका लागि आफूभन्दा कान्छा शशांक र सुजातालाई पारिवारिक रूपमा गलाएर समर्थन गराउने प्रयासमा छन्।

अहिलेसम्मको अवस्थामा शेखरले सुजाताको समर्थन लगभग जुटाइसकेको देखिएको छ। साउन ४ गते बालुवाटारस्थित आफ्नो सचिवालयमा बोलाएर सुजाताबाट आफूलाई समर्थन हुने सार्वजनिक वक्तव्य पनि गराइसकेका छन्।

सो दिन सुजाताले ‘१५ औं महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार हुने र त्यसमा आफ्नो पनि समर्थन रहने’ वक्तव्य दिएकी थिइन। ‘हामी (कोइराला परिवार) एकजुट हुनैपर्छ। हाम्रो बुबा र हजुरबुबाहरूले देख्नुभएको सपनालाई पूरा गर्नैपर्छ,’ सुजाताले भनेकी थिइन, ‘त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ। हामीले मुलुकलाई निकास दिनुपर्छ।’

देशको अवस्था गम्भीर रहेको बताउँदै कोइराला परिवार एकजुट नभए लोकतन्त्र र कांग्रेस दुवै नरहने सुजाताको बयान थियो। ‘त्यसैले हामी कसैले केही त्याग गर्नैपर्छ। हामी कोइराला परिवारमा केही विवाद छैन। शेखर दाइले धेरै मेहेनत गरिरहनुभएको छ, नेतृत्व गरिरहनुभएको छ। उहाँको नेतृत्वलाई सबैले साथ दिनुपर्छ,’ उनले भनेकी थिइन। सुजाताले शशांक पनि शेखरकहाँ आएर देशलाई निकास दिनुपर्ने बताएकी थिइन।

साउन ३१ गते विराटनगर पुगेका शेखरले १५ औं महाधिवेशनमा पनि आफू सभापतिमा उम्मेदवार रहने प्रस्ट पारेका थिए। ‘अहिले म देनभरका विभिन्न जिल्लाको भ्रमण गरेर साथीभाइ भेट्दै छु। अघिल्लो पटक पनि उठेको थिए सफल भइन फेरी सभापतिमा उठ्ने विषय स्वाभाविक हो’, उनले भनेका थिए।

शेखरको चाहना ०८२ मंसिरमै महाधिवेशन गराएर सभापतिमा लड्ने प्रस्ट देखिन्छ। केहीदिनअघि सकिएको कांग्रेसको केन्द्रीय समिति बैठकमै ०८२ मंसिरमै महाधिवेशनको मिति सुनिश्चित हुनुपर्ने प्रस्तावसम्म राखेका थिए।

सभापति देउवाले समयमा महाधिवेशन गराउन नचाहेको आरोप लगाउँदै उनले बैठकले मिति नै तोक्नुपर्ने दबाब बढाउन खोजेका थिए। शेखर बोलिरहँदा सभापति देउवाले बिचमै रोकेर ‘विधानले तोकेको निर्धारित समयमा महाधिवेशन हुने’ भन्दै ‘अनावश्यक शंका’ नगर्न भनेर जवाफ दिएका थिए। तर, शेखरले चाहेजस्तो निर्णय बैठकले दिएन।

शेखरले यसरी महाधिवेशन केन्द्रित भएर लागिरहँदा शशांक कोइराला पनि १५ औं महाधिवेशनमा सभापतिमा भिड्ने मनसायमा देखिन्छन्। बिहीबार चितवन पुगेका शशांकले पत्रकारसँगको कुराकानीमा १५ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको स्वीकार गरे।

पत्रकारको प्रश्नको जवाफ दिँदै शशांकले ‘अब सभापतिको उम्मेदवार म हुँ। सोच्ने कुरै छैन,’ उनले भने। आफू र कांग्रेस अब महाधिवेशनमा केन्द्रित भइसकेको पनि उनले दाबी गरेका थिए। देउवासँग आशा सभापतिमा उम्मेदवारी घोषणा गरेका शेखर र शशांक दुवैले १५ औं महाधिवेशनमा सभापतिमा सघाउने आशा राखेका छन्।

आफ्नो भूमिकाले १४ औं महाधिवेशनमा सभापति जित्न देउवालाई सघाउ पुगेको भन्दै शशांकले देउवाबाट सहयोग पुग्ने तीव्र आशा राखेका छन्।

उता केही समय अघि शेखरले एक टेलिभिजन संवादमा देउवाले आफूलाई सघाउनेमा आशा व्यक्त गरेका थिए। देउवाबाट सघाउको अपेक्षा गरेकै कारण शेखरले देउवाका निर्णयमा विरोध नगरेको उनको समूहभित्र आरोप पनि छ।

प्रकाशित: २० भाद्र २०८१ १७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App