४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘नेताहरूलाई चाहिँ लाज लाग्दैन ?’

फाइल तस्वीर

टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो। देउवा, ओली लगायत नेताहरूका कारण देशले दुःख पाएको भन्दै एउटा जमातले गरेको चर्को नाराबाजीले सिंगो मुलुक तरंगित बन्यो।

असन्तुष्ट जमातले नारा लगाएपछि नेताहरूले पनि आक्रोश पोखे। ओलीले सम्बोधनका क्रममा नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको टिप्पणी गरे। कांग्रेस सभापति देउवा भने आफ्नो ‘स्वभाव’ अनुसार कड्किए। उनले नारा लगाउनेलाई ‘लाज नभएकाहरू’ समेत भन्न भ्याए।

‘लाज पनि छैन’, देउवाले रिसाउँदै भने, ‘यही हो नेपालको संस्कृति? यही हो नेपालको चलन? लाज नभएकाहरू?’

सांस्कृतिक पर्वमा नारा लगाउनु कति ठिक थियो, कति बेठिक थियो, त्यसको चर्चा कमै देखिएको छ। तर देउवाले नारा लगाउने जमातलाई लाज नभएकाहरू भनेपछि सामाजिक सञ्जालमा त्यसको चर्को टीकाटिप्पणी भएको छ।

‘अनि पाँचपटक प्रधानमन्त्री हुँदा पनि माखो मार्न नसक्दा लाज लाग्दैन देउवाज्यू,’ सामाजिक सञ्जालमा सुशान्त खत्री लेख्छन्, ‘आफैंले घोटालाका नाइके भनेकालाई प्रधानमन्त्री बनाउँदा लाज लाग्दैन?’

खत्रीले नक्कली भुटानी शरणार्थी काण्ड, गिरीबन्धु टी–इस्टेट काण्ड, स्काउट, बाल मन्दिर र बाँसवारी जुत्ता कारखानादेखि टेरामेक्स र निर्मला कुर्मीका घटनाका कुरासमेत उठाएर सरकारलाई प्रश्न गरेका छन्। ‘काण्डै काण्डको चाङमा बसेर त्यसो भन्ने नेतालाई चाहिँ लाज लाग्दैन?’ उनले लेखेका छन्, ‘आफ्नो कार्यको पनि मूल्यांकन गर्ने कि?’

सुशान्तको कुरासँग सहमत छन्– दीपक पौडेल पनि। उनले सभापति देउवालाई सुध्रिन पनि सुझाएका छन्। प्रजातन्त्र र लोकतन्त्र ल्याउन देउवाले राम्रो काम गरे पनि नयाँ पुस्ताले उनले गरेका राम्रा कार्य हेर्न नपाएको पौडेलको भनाइ छ।

‘अहिलेका युवाले तपाईंले संघर्ष गरेर ल्याएको प्रजातन्त्र भनेर थाहा पाउन्नन्,’ उनले लेखेका छन्, ‘उनीहरूले त प्रजातन्त्रपछि कुशासन मात्र देखेका छन्।’ सामाजिक सञ्जालमा यस्ता थुप्रै प्रतिक्रिया आएका छन्।

केहीले लोकतन्त्र र प्रजातन्त्रका लागि नेताहरूले गरेको योगदानको चर्चा गरे पनि अधिकले उनीहरूका बेथितिलाई सम्झेका छन्। ‘आफ्नै देशमा रोजगारी दिन नसक्दा दैनिक दुई हजारभन्दा बढी युवा बिदेसिएका छन्’, सामाजिक सञ्जालमा प्रवेश कर्ण लेख्छन्, ‘भोट दिने युवालाई रोक्न नसक्ने हो? लाज त तपाईंहरूलाई लाग्नुपर्ने हो।’

कतिपयले सांस्कृतिक पर्वमा नाराबाजी नगरेको भए हुने प्रतिक्रिया दिएका छन्। ‘राजधानीमा सुदूरपश्चिम रमाइरहँदा अवरोध नगरेको भए हुन्थ्यो’, मिलन कार्की लेख्छन्, ‘यसले पर्वमा रमाउनेलाई खल्लो बनाएको छ।’

जात्रापर्वमा नारा लागेको यो पहिलो पल्ट होइन। तर अघिल्लो जात्रामा लागेको नारा र यो नारामा तात्त्विक अन्तर देखिन्छ। करिब एक महिनाअघि ललितपुरको जाउलाखेलमा आयोजित भोटो देखाउने जात्रामा राष्ट्रपति र प्रधानमन्त्रीकै सामुन्ने काठमाडौंका मेयर बालेन साहको पक्षमा लागेको नाराले पनि निकै चर्चा बटुलेको थियो।

मनोविश्लेषक डा. नम्रता पाण्डे यी दुवै राजनीतिको उत्तेजना रहेको बताउँछिन्। ‘राजीनितले लय नलिँदा आएका उत्तेजना हुन् यी,’ उनले भनिन्, ‘यो राम्रो संकेत होइन।’ कतैबाट आशा देख्नेबित्तिकै देउता मान्ने अनि निराशा देख्नेबित्तिकै दानव ठान्ने प्रवृत्ति घातक रहने उनले सुनाइन्। ‘समाजमा पलाएको यो पछिल्लो प्रवृत्ति निकै डरलाग्दो छ,’ उनले भनिन्, ‘यसको समाधानको बाटोमा राजनीतिज्ञ नै लाग्नुपर्छ।’

जनता रिसाएका बेला नेता पनि रिसाए झनै अवस्था घातक हुने उनको बुझाइ छ।  

गौरा पर्वका अवसरमा देउवा र ओलीविरुद्ध नारा लागे पनि यो उनीहरूप्रति मात्र लक्षित भने होइन। मुलुकको वर्तमान अवस्थाका लागि सर्वसाधारण कुनै एक पार्टी र व्यक्तिलाई भन्दा पनि सिंगो प्रणालीलाई दोष दिन्छन्। ‘यहाँ सत्तामा नपुगेका र राज नगरेका को छन् र? सामाजिक सञ्जालमा जीवन धितालले लेखेका छन्, ‘अहिले एकले अर्कोलाई दोष दिँदै पन्छिन मिल्दैन।’

राजनीतिशास्त्री कृष्णप्रसाद लम्साल जनतालाई लोकतन्त्रप्रति हैन, नेताहरूको व्यवहारप्रति वितृष्णा भएको सुनाउँछन्। ‘दशकौंदेखि एउटै अनुहार पदमा देखिरहनु तर मुलुकको अवस्था सोचेअनुसार नफेरिनुको निराशा जनतामा छाएको छ,’ उनले भने, ‘त्यही निराशा विभिन्न बहानामा पोखिन थालेको छ।’

पुराना नेताबाट केही हुने आशा नभएपछि नयाँतर्फ जनताको झुकाव जानु सामान्य कुरा भएको उनले बताए। ‘बालेन–बालेन भनेर जनताले साँच्चिैकै बालेनलाई माया गरेको भन्दा पनि नेताहरूलाई देखिस् भन्न खोजेका हुन्’, उनको विश्लेषण छ, ‘नेताहरूले यो कुरा बेलेमा बुझे उनीहरूका लागि पनि राम्रो हुन्थ्यो।’

देउवा र ओलीले सम्बोधन गर्ने क्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लियो। उनीहरू हुन्– सुर्खेत घर भएका गोपीराम जैसी र अछाम घर भएका रामबहादुर बुढा। तर सर्वसाधारणले यसको झनै आलोचना गरेका छन्।

‘आफ्नो कमजोरी नस्विकार्नु झनै खतरनाक स्थिति हो’, सामाजिक सञ्जालमा विनीत पुडासैनी लेख्छन् ।

प्रकाशित: १५ भाद्र २०८१ ०७:०९ शनिबार

#Gaura festival #Psychoanalyst Dr. Namrata Pandey