गम्भीर आरोप लागेपछि अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ। उच्च राजनीतिक स्रोतका अनुसार रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको सिकायतपछि नाम फिर्ता भएको हो। उनीविरुद्धको सिकायतअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केका हुन्। उनलाई इजरायलबाट फिर्ता गर्ने बेलामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को सरकार रहेको थियो।
कूटनीतिक नियुक्ति पाउने व्यक्तिले दुईजनासम्म घरेलु सहयोगी विदेश लिएर जान पाउने व्यवस्था छ। त्यही व्यवस्थाअनुसार रिजालले पनि दुईजना सहयोगी इजरायल लगेकी थिइन्। तर, उनले एक जनालाई उतै छाडेको भन्ने आरोप लागेपछि उनको नियुक्तिबाट सरकार पछि हटेको हो। कूटनीतिक क्षेत्रलाई ‘गम्भीर शिष्टाचार उल्लंघन’को रूपमा लिइन्छ। रिजाल सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी थिइन्।
पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले ११ जना राजदूत फिर्ता गर्ने क्रममा उनी पनि परेकी थिइन्। दाहाल सरकारलाई हटाएर बनेको केपी शर्मा ओली सरकारले गत असार ३० गते १८ देशमा राजदूत सिफासिस गर्दा रिजाल पुनः परेकी हुन्। मन्त्रिपरिषद्ले सिफारिस गरे पनि सरकारले संसदीय सुनुवाइका लागि पठाउँदा उनको नाम सूचीबाट हटाएपछि उनीविरुद्ध सिकायत रहेको खुल्न गएको हो।
प्रकाशित: ३२ श्रावण २०८१ ०६:४१ शुक्रबार