९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

निजी वनको दिगो व्यवस्थापन अति आवश्यकः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन्।

सोमवार काठमाडौंमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले बढ्दो बसाईंसराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तिव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदुषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतिहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भइ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

उपराष्ट्रपति यादवले वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतिहरुलाई अवसरका रुपमा परिणत गर्नका लागि सरोकारवाला बचिको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प रहेको पनि बताए।

उनले खेर गइरहेको निजी आवादी जमिनमा हरियाली बनाउन छिटो, छरितो बढ्ने बिरुवाहरुको वृक्षारोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्न सकिने बताए।

उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्युनिकरण तथा अनुकुलनका लागि निजी वनले पु¥याएको योगदानको समीक्षा र मूल्यांकन हुन जरुरी रहेको पनि बताए।

प्रकाशित: २८ जेष्ठ २०८१ १२:४५ सोमबार

#vice_president #ramsahay_prasad_yadav