५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

लोसपा मधेस प्रदेश संसदीय दलका नेता शर्मा निलम्बित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद अभिराम शर्मा निलम्बनमा परेका छन्। शुक्रबार प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै उनी निलम्बनमा पारेको जानकारी दिएकाे छ।  

लोसपा मधेश प्रदेशको संसदीय दलका नेतासमेत रहेका शर्मालाई महोत्तरी जिल्ला अदालतले गत मंसिर २८ गते जन्मकैदको सजाय सुनाएको थियो। २०७२ को मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्या आरोपमा उनलाई जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैद सजाय तोकेको थियो।

अदालतबाट सजाय पाएको ६ महिनापछि प्रदेश सचिवालयले उनलाई निलम्बन गरेको हो। अदालतले सजाय तोकेपछि उनी प्रदेशसभा बैठकमा पनि अनुपस्थित हुँदै आएका थिए। शर्मा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३(१) बाट निर्वाचित थिए।

अदालतले शर्मासहित ७ जनालाई जन्म कैदको सजाय सुनाएको थियो। सो घटनामा प्रत्यक्ष संग्लन भन्दै शर्मासहित प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर शाही भनिने रामशंकर शाही र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाइएको थियो। उनी निलम्बन भएसँगै मधेस प्रदेशसभामा १०६ र लोसपाको ८ जना प्रदेशसभा सदस्य कायम भएको छ।

मधेस आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा घाइते भएका असई बिकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै घेरा हालेर एम्बुलेन्सबाट बाहिर निकालेर आन्दोलनकारीद्वारा मारिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको थियो।

प्रकाशित: २१ वैशाख २०८१ १७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App