८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

अवैध आयात रोक्न उद्योगी व्यवसायीले सहयोग गरेनन् : मेयर कोइराला

विराटनगरका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापन र भन्सार कडाइमा विराटनगरका उद्योगी व्यवसायीले सहयोग नगरेको गुनासो गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले मंगलबार  विराटनगरमा आयोजना गरेको ‘आर्थिक विकासमा सरकार निजी क्षेत्र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा  मेयर कोइरालाले पार्किङ व्यवस्थापन र भन्सार कडाइको काममा उद्योगी व्यवसायीले सहयोग नगरेको गुनासो गरेका हुन्।

मेयर कोइरालाले खुल्ला सीमानाकाकारण तस्करी बढ्दा  व्यापार व्यवसाय चौपट भयो भनेर उद्योगी व्यवसायीले बारम्बार गुनासो गरेपछि आफूले भन्सार कडाइका लागि पहल गरेको बताए। तर, भन्सार कडाइपछि त्यसको आलोचना पनि आफैंले खेप्नु परेको मेयर कोइरालाको गुनासो छ। ‘अवैध आयात रोक्न सिमामा कडाइका लागि पहल गरिदिन बारम्बार उद्योगी व्यवसायीले माग गरेपछि मैले अवैध आयातमा कडाइको पहल गरे। तर, सिमानाका कडाइ हुँदा मेरै आलोचना भयो’ कोइरालाले भने।

विराटनगर महानगरपालिका र मेयरको आलोचना हुँदा उद्योगी व्यवसायीहरूले भन्सार कडाइको समर्थनमा एउटा विज्ञप्तिसमेत ननिकालेको कोइरालाको गुनासो छ। उद्योगी व्यवसायीसँग रुष्ट बनेका कोइरालाले नुन तेल मात्रै नभई मोटरसाइकल र गाडीको पनि खुल्ला रुपमा आयात खोल्दा हुने बताए। उनले भने ‘यस्तै हो भने नुन तेल मात्रै किन सीमावर्ती बजारमा मोटरसाइकल, गाडी, इँटा जे–जे सस्तो छ सबैको आयात खोलौँ।’ कोइरालाले राम्रो  काममा निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने न भए सबै क्षेत्र लथालिङ्ग हुने बताए। कोइरालाले निजी क्षेत्रको असहयोगका कारण विराटनगर बजारमा व्यवस्थित पार्किङ र अवैध आयात रोक्न सीमा नाकामा गरिएको कडाइ दुबै काममा सफलता नमिलेको बताए। कोइरालाले  निजी क्षेत्रका समस्या समाधानका लागि सहकार्य गर्न महानगरपालिका सधैँ तत्पर रहेको बताउँदै  महानगरपालिका मात्रै तत्पर भएर नहुने भएकाले सहकार्यका लागि निजी क्षेत्र पनि स्पष्ट रुपमा आउनुपर्ने धारणा राखे। कोइरालाले विराटनगरको व्यापार व्यवसायलाई चलायमान बनाउन रातीको १२ बजेसम्म होटेल व्यवसाय सञ्चालनका लागि महानगरपालिकाले पहल गरिरहेको  जानकारी दिए।

साना तथा मझौला व्यवसायी महासङ्घ मोरङका अध्यक्ष गोपालबहादुर अधिकारीले सरकारले साना तथा मझौला व्यवसायीलाई सहजीकरण नगरेको गुनासो गरे। उनले साना तथा मझौला उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने बताए। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङ महिला समिति अध्यक्ष सुनिता छराहाङले साना व्यवसायीलाई करको भार अत्याधिक परेको गुनासो गरिन्। उनले साना व्यवसायीलाई तीनै तहका सरकारले वार्षिक कर लिने गरेको र वार्षिक १२/१३ हजार रुपैयाँ कर व्यवहारिक नभएकाले दोहोरो करका विषयमा सोच्न तीनै तहका सरकारलाई आग्रह गरिन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका कार्यवहाक अध्यक्ष भीम पौडेलले कोशी प्रदेशका कृषि, औद्योगिक तथा पर्यटकीय सम्भावनाका क्षेत्रलाई अघि बढाउन सार्वजनिक निजी सहकार्य आवश्यक रहेको बताए। उनले आर्थिक मन्दीले निजी क्षेत्र निराश भएकाले निजी क्षेत्रलाई आशा जगाउने नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने धारणा राखे। पौडेलले भने ‘निजी क्षेत्र निराश भइसकेको छ। सरकारले आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ।’ उनले कोशी प्रदेशको आर्थिक क्षेत्र उकास्नका लागि नीजिक्षेत्र र सार्वजनिक क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे। मगरले २ सय बढी उद्योग भएर पनि बुढीगंगा गाउँपालिकामा स्थानीय विकासका  सानातिना समस्याहरूमा समेत उद्योगहरूले सहयोग नगरेको गुनासो गरे। कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी आकर्षण हुन नसक्दा सरकारले निर्माण गरेको संरचना समेत प्रयोगविहीन रहेको बताए। उनले निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारीमा ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहयोगी संस्था  कम्युनिटी इन्गेजमेन्ट एण्ड आउटरिच प्रालिका टिम लिडर अनिरुद्र न्यौपानेले आर्थिक विकासका लागि निजी सार्वजनिक सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि तीनै तहका सरकार र निजी क्षेत्रबिच छलफल आवश्यक रहेको बताए। 

प्रकाशित: १५ फाल्गुन २०८० १८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App