राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको शुभकामना दिएका छन्। आज सोनाम ल्होसारको अवसर पारेर एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
‘सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्।
तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार मनाइन्छ। यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन्। मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आआफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएका छन्।
प्रकाशित: २७ माघ २०८० १०:३४ शनिबार